यति एयरलाइन्सले वैशाखभित्र २ ओटा एटीआर जहाज भित्र्याउँदै

फागुनभित्रै जहाज ल्याउने प्रक्रिया अगाडि बढाएको यतिले प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा ज्यान गएकाले केही समयपछि सारेको थियो ।

काठमाडौं ।यति एयरलाइन्सले आगामी वैशाखभित्रमा दुई ओटा नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । फागुनभित्रै जहाज ल्याउने प्रक्रिया अगाडि बढाएको यतिले प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा ज्यान गएकाले केही समयपछि सारेको थियो ।

यति एयरलाइन्सका सिनियर म्यानेजर भिम राईले प्रबन्ध निर्देशक शेर्पाको निधनले जहाज ल्याउने प्रक्रिया केही लम्बिएको बताए । उनले हाल विभिन्न डकुमेन्ट मिलाउने काम भइरहेको भन्दै बैशाखभित्रमा ७२ सिट क्षमता भएको नयाँ एटीआर आइसक्ने जानकारी दिए ।

नयाँ एटीआर आएपछि यतिसँग रहेको ‘जेटस्ट्रिम–४१’ जहाजले पोखराबाट माउन्टेन फ्लाइट गर्नुका साथै भरतपुर, भैरहवा र विभिन्न चार्टर फ्लाइट गर्ने जनाएको छ ।
हाल यति एयरलाइन्ससँग ३ ओटा एटीआर र ५ ओटा जेटस्ट्रिम जहाज रहेको छ ।

यतिले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगञ्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान भर्दै आएको छ ।