बेन्चसिट हटाउने निर्णय १७ दिन पनि टिकेन, पछि हट्यो हेलिकप्टर सोसाइटी

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएपछि बेन्चसिट हटाउने हचुवाको भरमा गरेको निर्णयबाट हेलिकप्टर सोसाइटी पछि हटेको हो ।

काठमाडौं । बेन्चसिट हटाएर ६ वटा मात्र राख्ने निर्णय गरेको हेलिकप्टर सोसाइटी नेपालले १७ दिनमै आफ्नो निर्णय उल्टाएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएपछि बेन्चसिट हटाउने हचुवाको भरमा गरेको निर्णयबाट हेलिकप्टर सोसाइटी पछि हटेको हो ।

सोसाइटीका महासचिव योगराज कडेलले मन्त्री अधिकारी सहित विभिन्न व्यक्तिहरुको निधन भएको बेला नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले राखेको प्रस्ताव अस्विकार गर्ने अवस्था नभएको कारण तत्कालिन अवस्थामा स्वीकार गरेको बताए । उनले टाउको गनेर उडाएको भरमा जहाज दुर्घटना नहुने भन्दै बेन्स सिट हटाउने निर्णयबाट पछाडी हटेर ठाउँ अनुसार यात्रु बोक्ने बताए ।

गत फागुन २३ गते बसेको क्यान र सोसाइटीले सञ्चालनमा रहेका नौ ओटा हेलिकप्टरबाट १३ ओटा सिट निकाल्ने सहमति गरेका थिए । श्रोतका अनुसार क्यान सँगको बैठकमा एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्कीले बेन्ससिट हटाउने प्रस्ताव राखेका थिए । उनले राखेको प्रस्तावमा सोसाइटीका केहि सदस्यहरुले विरोध जनाएका थिए । तर हेलिकप्टर दुर्घटना भएको घटना पूर्णरुपमा नसेलाएकै कारण सहमत जनाएको सहभागिहरुको भनाइ छ ।

एयर डाइनेस्टी सँग ७ सिटको हेलिकप्टर नभएकै कारण कार्कीले यस्तो प्रस्ताव राखेको सोसाइटीका सदस्यहरुको भनाइ छ ।
यसैबीच क्यानका उपमहानिर्देशक राजन पोखरेलले भने बेन्ससिट राख्ने विषयमा सोसाइटीबाट कुनै जानकारी नआएको बताए । उनले सगरमाथामा रहेको गोरक्षेप हेलिप्याडको निरिक्षणका लागि प्राविधिक टोलि गएको र उनिहरुको रिपोर्टको आधारमा सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय लिने जानकारी दिए ।