‘विप्लव’को गतिविधि सरकारले चैतभित्रै नियन्त्रण गर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले विप्लव समूह सहमतिमा नआएमा सरकारले नै उसको गतिविधि नियन्त्रण गर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहका हिंसात्मक गतिविधिहरु चैत महिनाभित्रै नियन्त्रण गरिसक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह सहमतिमा नआएमा सरकारले नै उसको गतिविधि नियन्त्रण गर्ने बताए । ‘विप्लव समूह सहमतिमा आए ठिकै छ । नत्र उसको क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विकास निर्माणमा अवरोध गर्ने, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै ।’

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकाले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न पनि सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।