चैतभित्रै १ अर्ब ६० करोडको आईपीओ आउदै

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलद्यिुत कम्पनी लिमिटेड र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आईपीओ ल्याउन लागेका हुन् ।

काठमाडौं । चैतभित्र ३ ओटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलद्यिुत कम्पनी लिमिटेड र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आईपीओ ल्याउन लागेका हुन् ।

३ ओटा कम्पनीले १ अर्ब ६० करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७३ हजार १५० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।नेपाल धितोपत्र बोर्डले ३ ओटै संस्थालाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ ।

रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँको १ करोड २ लाख ६३ हजार १५० कित्ता, सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता र गणपतिले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

रसुवागढी र सान्जेनले एकैदिन आईपीओ निष्कास गर्ने चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोईरालाले बताए । उनले चैतभित्रै आईपीओ निष्कासन हुने जानकारी दिए । चिलिमे रसुवागढी र सान्जेनको माउ कम्पनी हो । उनले कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक सकिएपछि आईपीओ निष्कासनका लागि आब्हानपत्र जारी गर्ने उनले बताए ।

रसुवागढीले नेपाल र चीन सीमानामा १११ मेगावाटको रसुवागढी र सान्जेनले पनि ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना निर्माण गरिरहेको छ । रसुवागढीको ७०, तल्लो सान्जेनको ६० र माथिल्लो सान्जेनको ७५ प्रतिशत काम सकिएको कोइरालाले बताए ।