साँझ ५ बजेसम्मको हो । बैंक तथा वित्तीय संस्थाले केही सेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । कूल १ लाख ५५ हजार ४७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।
काठमाडौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन परेको छ ।
सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क आज साँझ ५ बजेसम्मको हो । बैंक तथा वित्तीय संस्थाले केही सेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । कूल १ लाख ५५ हजार ४७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।
कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको सेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको १०० रुपैयाँ अङ्कित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री शुरु भएको हो ।
आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।
कार्यक्रमको पहिलो सहभागीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण रहेको छ ।
मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार ९निर्माण अवधिको ब्याजसमेत० लाग्ने प्रक्षेपण गरिएको छ ।