पर्यटन महोत्सव चैत २१ देखि

‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए । 

बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।

‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए ।

स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्यलगायतका प्रतियोगितासमेत समावेश गरिएको बताइएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः २५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका वस्तुको प्रदर्शनी र प्रवर्द्धनका लागि आयोजकले १० स्टल निःशुल्क उपलब्ध गराउने महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए ।

“महोत्सवलाई हामीले जिल्लाको कला संस्कृतिको संरक्षण र संवर्द्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यावसायिक रूपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचारप्रसार र साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो”, रकालले भने । रासस