जुगल हिमशृङ्खला अन्तर्गतको ग्याल्जेन पिक आरोहणमा माया गुरुङको नेतृत्वमा ६ जना र माधवन सापकोटाको नेतृत्वमा २ जनाले चैत्र १५ देखि बैशाख ६ गतेसम्म संयुक्त रुपमा आरोहण गर्ने भएका छन् । सिन्धुपाल्चोक घर भएकी माया सगरमाथा आरोही हुन् ।
काठमाडौं । भर्जिन हिमालका रुपमा रहेको जुगलमा पर्वतारोहीले पहिलोपटक आरोहण गर्ने भएका छन् । प्रदेश ३ को सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेको हिमालमा दुई समूहले आरोहण गर्ने भएका छन् ।
काठमाडौंबाट सबैभन्दा नजिक १ सय ४५ किमि दुरीमा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्लाल्जेन पिक २२ दिनमा आरोहण गरी फर्किन सकिने छ ।
जुगल हिमशृङ्खला अन्तर्गतको ग्याल्जेन पिक आरोहणमा माया गुरुङको नेतृत्वमा ६ जना र माधवन सापकोटाको नेतृत्वमा २ जनाले चैत्र १५ देखि बैशाख ६ गतेसम्म संयुक्त रुपमा आरोहण गर्ने भएका छन् । सिन्धुपाल्चोक घर भएकी माया सगरमाथा आरोही हुन् ।
गुरुङ र सापकोटासहितको टोलीमा शर्मिला थापा, मीनबहादुर लामा, तुलसी सिंह गुरुङ, नरबहादुर आस्थानी, दावा टाशी शेर्पा र सुभाष कर्माचार्य छन् ।
हिमाल आरोहणका लागि नयाँ रुट तय गर्ने उद्देश्यले टोलीले जुगल गाउँपालिका वडा–३ मा पर्ने जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक चढ्न लागेको गुरुङको भनाइ छ ।
सन् १९३० मा अमेरिकन टोलीले जुगल हिमाल आरोहणको प्रयास गरेको थियो । तर, उनीहरू जुगलको पूरा उँचाइ ६ हजार पाँच सय ३५ मिटरसम्म नपुगी फर्केका थिए ।
६ हजार एक सय ५१ मिटर उचाइसम्म पुगेका अमेरिकन आरोहीले सो हिमशृङ्खलालाई ग्याल्जेन पिक नामकरण गरिएको जुगल गाँउपलिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
आरोहण टोली १५ चैतमा सिन्धुपाल्चोकको ढाँडे पुग्नेछ । दोस्रो दिन जुगल र बलेफी गाउँपालिकाको सीमामा रहेको ढाँडे बजारमा सो टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । ढाँडे बजारबाट गाडी चढेर टोली गुम्बाथाङ पुग्नेछ । गुम्बाथाङ, क्याङसिङ हुँदै सोही दिन तेम्वाथाङ पुग्नेछ । तेस्रो दिन तेम्वाथाङबाट छेन्दाङ, चौथो दिन नेपेमासाल पुग्नेछ । पाँचौँ दिनमा टोली बुम्बासेर्पु हुँदै ४५ सय मिटरमा रहेको बेसक्याम्प पुग्नेछ ।
छैटौँ दिनमा आरोही गुरुङ र तीनजना गाइडको टोली दुई घण्टा हिँडेर पाँच हजार उचाइमा तय गरिएको हाई बेसक्याम्प पुग्नेछन् । सातौँ दिनदेखि हिमाल आरोहण सुरु हुनेछ ।
हिमाल आरोहणमा जुगल गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । हिमाल चढेर फर्कंदासम्म लाग्ने बाँकी खर्च पनि पालिकाले नै व्यहोर्ने जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रदेश सरकार, प्रदेश ३ ले चैत २ गते बसेको मन्त्रिपरिषद बैठकबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजनाको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रमबाट ग्याल्जेन पिक आरोहण कार्यक्रम सञ्चालन गर्न सिन्धु पर्यटन परिषदलाई हिमाल आरोहणका लागि ४० लाख रुपैया अनुदान उपलब्ध गराउन निर्णयसमेत गरेको थियो ।
३ नम्बर प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले जुगल हिमालको आरोहणसँगै भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन थप सहयोग हुने बताए ।