नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडको शिफारिश गरेपछि मार्जिन कारोबारको स्वीकृति दिने राष्ट्र बैंङकले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले सेयरको मार्जिन कारोबार गर्न स्वीकृति दिने भएको छ । केन्द्रीय बैंङ्कले बिहीबार निर्देशन जारी गरी मार्जिन कारोबारका लागि स्वीकृति दिने जानकारी गराएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडको शिफारिश गरेपछि मार्जिन कारोबारको स्वीकृति दिने राष्ट्र बैंङकले जनाएको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको मार्जिन कारोबारसम्बन्धी निर्देशिकामा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर किनबेच भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुने उल्लेख गरेको छ ।
यस्तै सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।
धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ । ऋणको ब्याजदर ब्रोकर र नेप्सेले निर्धारण गर्न सक्ने व्यवस्था कार्यविधिमा छ ।