यन्त्रीकरणले आलुखेतीमा सरलता

दुई रोपनी जमिनमा आलुको ड्याङ बनाउन पाँच जना कामदार लाग्नेमा यन्त्रले पौने दुई घण्टामा सकाइदिएको थियो । ड्याङ पार्न प्रतिकामदार दैनिक ज्याला एक हजारका दरले पाँच हजार दिनुपर्नेमा यन्त्रको प्रयोगले एक हजार ४०० मा काम सकिएको नेपालले बताए । 

काभ्रेपलाञ्चोक । आलुखेतीमा यन्त्रीकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताए ।

उनले भने, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उनको दुई रोपनी जमिनमा आलुको ड्याङ बनाउन पाँच जना कामदार लाग्नेमा यन्त्रले पौने दुई घण्टामा सकाइदिएको थियो । ड्याङ पार्न प्रतिकामदार दैनिक ज्याला एक हजारका दरले पाँच हजार दिनुपर्नेमा यन्त्रको प्रयोगले एक हजार ४०० मा काम सकिएको नेपालले बताए ।

उनले भने, “यन्त्र प्रयोग गर्दा कामदारलाई खाजा ख्वाउनुपर्ने झन्झट र खर्च पनि जोगियो ।” उनले आउँदो वर्ष आलु गोड्ने यन्त्रको प्रयोगात्मक अभ्यास गरिने जानकारी दिए । कृषक नेपालले यन्त्रबाट आलुको ड्याङ बनाउँदा उत्पादन लागतमा समेत कमी हुने भएपछि हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (आलु सुपरजोन)मार्फत ५० प्रतिशत अनुदानमा यन्त्र खरिद गरेका छन् । उनले भने, “यन्त्रबाट र मानिसले कोदालीद्वारा आलुको ड्याङ पार्दा उत्पादनमा पनि समान नै देखियो, अब यन्त्रले नै ड्याङ पार्छौँ ।”

उनले यस वर्ष दुई रोपनीमा अभ्यासअनुरुप यन्त्रले ड्याङ बनाएको तर आउँदा वर्षमा आफ्नो छ रोपनीमै यन्त्र प्रयोग गर्ने सुनाए । अर्का कृषक हरिप्रसाद लम्सालले पनि आउँदो वर्ष आलुखेती गर्न यन्त्रले नै ड्याङ बनाउने बताए । उनले भने, “हामीले गोविन्दको खेतमा आलुको ड्याङ बनाउँदा यन्त्र प्रयोगदेखि उत्पादनको समयसम्म बुझिरहेका छौँ, यन्त्रको प्रयोगले उत्पादन लागतमा निकै सरलता पायौँ, समयको पनि बचत देखियो ।”

उनले पनि परियोजनामार्फत ५० प्रतिशत अनुदानमा यन्त्र खरिद गर्ने बताए । आलुको ड्याङ बनाउने यन्त्र खरीद गर्न एक लाख १५ हजार रूपैयाँ पर्दछ । यसमध्ये यन्त्र खरिद गर्न चाहने कृषकलाई परियोजनाले ५० प्रतिशत अनुदान दिँदै आएको छ । केही कृषकले सहकारीमार्फत यन्त्र खरीद गरी पालैपालो प्रयोग गर्दै आएका छन् । गत वर्ष नालाका सात र पनौतीका तीन जना कृषकले आलुको ड्याङ बनाउने यन्त्र ५० प्रतिशत अनुदानमा खरिद गरेको एकाइका वरिष्ठ कृषि अधिकृत दीपक पौड्यालले जानकारी दिए ।

उनले भने, “आलुखेती हुने जिल्लाका स्थानीय तहका कृषकलाई यन्त्रबारे जानकारी गराउँदै क्रमैसँग आलुखेतीमा यन्त्रीकरण गरिने योजना बनाएका छौँ ।” उनका अनुसार हाल धुलिखेल र पनौतीका सात कृषकले अनुदानमा यन्त्र खरिदका लागि फारम भरेका छन् । यन्त्र आयातका लागि प्रक्रिया अघि बढाइएको पौडेलले बताए । रासस