वसन्त ऋतुमा ११ हिमालमा १ सय ३८ जनाले आरोहण गर्दै, ७ करोड राजस्व सङ्कलन

यस वर्ष सबैभन्दा बढी ६ टिमका ५२ जनाले सगरमाथा आरोहण गर्ने भएका छन् । यस्तै आमाडबलम ८ जना, छोपाबामरे २ जना, थापा पिक १ जना, कुम्भकर्ण ३ जना, अन्नपूर्ण २३ जना, लोत्से ५ जना, मकालु १५ जना, पुमरी ११ जना, ग्याल्जेन ६ जना र सारीबुङमा १२ जनाले आरोहण गर्ने छन् ।

काठमाडौं । हिमाल आरोहणको समय खुला भएसँगै हालसम्म ११ हिमालमा १ सय ३८ जनाले आरोहण गर्ने भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार शुक्रबारसम्मको तथ्याङ्कअनुसार १९ टिमले आरोहण गर्ने छन् ।

एक सय ३८ जना हिमआरोहीबाट हालसम्म ७ करोड २० लाख ९५ हजार ५ सय २७ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन भएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

यस वर्ष सबैभन्दा बढी ६ टिमका ५२ जनाले सगरमाथा आरोहण गर्ने भएका छन् । यस्तै आमाडबलम ८ जना, छोपाबामरे २ जना, थापा पिक १ जना, कुम्भकर्ण ३ जना, अन्नपूर्ण २३ जना, लोत्से ५ जना, मकालु १५ जना, पुमरी ११ जना, ग्याल्जेन ६ जना र सारीबुङमा १२ जनाले आरोहण गर्ने छन् । तीमध्ये ग्याल्जेन पिकमा शुक्रबारबाट पहिलो पटक आरोहण सुरु भएको हो ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले फेक रेस्क्युका कारण यस वर्ष सोचेअनुसार हिम आरोहीहरु नआएको बताएका छन् । सरकारले फेक रेस्क्युमा संलग्नहरुलाई कारबाही नगरेकै कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश गएको उनको भनाइ छ ।

अहिले अन्तर्राष्ट्रिय संस्थाहरुले जीवन बिमा र मेडिकल बिमा गरे पनि रेस्क्यु बिमा गर्न नमानेको र गरिहाले पनि चर्को शुल्क लिने गरेको उनको भनाइ छ ।