पदयात्रामा पर्यटकसँगै जाने गाइड र भरियाको अभाव, टान पोखराले दियो २ सयलाई तालिम

पदयात्रा व्यवसायीहरुको संगठित संस्था ट्रेकिङ्ग एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले दुईसय जनालाई ट्रेकिङ्ग गाइड एण्ड पोर्टर तालिम प्रदान गरेको छ ।
नेपाल पर्यटन वोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) , नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका संघ–संस्थाको सहयोग र टानको आयोजनामा १० दिने तालिमको आयोजना भएको हो ।

तालिममा सहभागी दुइ सय जनालाइ गण्डकी प्रदेशका पर्यटन उद्योग तथा वन मन्त्री विकास लम्सालले प्रमाणपत्र वितरण गरे ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहँदा पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासका लागि गाइड एण्ड पोर्टरको महत्वपूर्ण भूमिका हुने बताए । उनले पर्यटन विकासका लागि नीजि क्षेत्र र सरकारका साझा एजेण्डा हुनुपर्ने उल्लेख गरे ।

‘समस्या धेरै छन् तर न्यूनिकरणका लागि सबै जुटौ, पर्यटन विकासका लागि गुनासो हैन अब योजना लिएर आउनुस्’, उनले भने । गण्डकी प्रदेश पर्यटनको आधार भएकाले यस सम्बन्धि पढाइका लागि पर्यटन विश्वविद्यालयको स्थापनाको संभाव्यता अध्ययन भइरहेको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटक गाइड र पोर्टर विना हिड्दा धेरै जोखिम बढेको भन्दै तालिम प्राप्त गाइड र पोर्टरबाट देशमै रोजगारको सृजना हुने र पदयात्रा क्षेत्रको सुरक्षाको चुनौति घट्ने विश्वास व्यक्त गरे ।

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटन विकासका लागि नीजि क्षेत्र र सरकार सँगैसँगै हिडे मात्रै अपेक्षित उद्देश्य हासिल गर्न सकिने बताए ।
टानका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धन विभागका संयोजक टिकाराम सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा टानले गरेको पर्यटन प्रर्वद्धनका गतिविधिको बारेमा जानकारी गराए ।

टानका अध्यक्ष हरी भुजेलले पदयात्रा क्षेत्रमा तालिम प्राप्त गाइड एण्ड पोर्टरको अभावमा धेरै चुनौती देखिएको भन्दै न्यूनिकरणका लागि तालिम प्रदान गरिएको बताए । विदेशी पर्यटक एक्लाएक्लै आफू खुशी पदयात्रामा हिड्दा कहिले हराउने, लड्ने साथै विभिन्न जातजाति समुदायको संस्कृति तथा धर्ममाथिनै प्रहार हुने गतिविधि बढ्दै गएको भन्दै अब “नो ट्रेकिङ विथआउट गाइड एण्ड पोर्टर” को अवधारणा सहित संस्था अघि बढेको उनले बताए ।