डुबान क्षेत्रमा उखु खेतीको विस्तार

सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिए । 

धनगढी । कैलाली र कञ्चनपुरका बाढीप्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिए ।

वर्षायाममा हरेक वर्ष कैलाली र कञ्चनपुरमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने गरेको छ । उखु खेती क्षेत्र विस्तार कार्यक्रमले बाढी र डुबानबाट जेगिन टेवा पुर्याउने, कृषकको आयआर्जन बढ्ने र आवश्यक परिमाणमा उखु पाउन नसकिरहेका चिनी उद्योगलाई उखुको उपलब्धता हुने उनले बताए ।

मन्त्रालयले कैलालीका कैलारी गाउँपालिका र भजनी नगरपालिका, कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाँटा, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई झण्डै ६११ बिघा जग्गामा पुग्ने ३९ हजार ७०१ क्वीन्टल उखुको बीउ वितरण गरेको हो ।

सो कार्यक्रमका लागि मन्त्रालयको एक करोड १९ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो । उखु खेती गर्ने किसानलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मर्सी क्रोप्स नेपालले समेत मल औषधि लगायतको प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।

स्थानीय रुपमा उत्पादन भएको उखुको गुणस्तरीय बीउ नै किसानलाई वितरण गरिएको छ । स्थानीय क्षेत्रमा उत्पादित बीउ वितरण गरिएबाट बीउ उत्पादक सम्बन्धित कृषकले उचित मूल्य पनि पाएका छन् । कैलारी गाउँपालिकाका बीउ उत्पादक किसान भागीराम चौधरीले उखुलाई बीउको रुपमा बिक्री गर्दा उचित मूल्य पाएको बताए । रासस