पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोसाक र परिचय पत्र यसअघि नै अनिवार्य भनिए पनि हालसम्म पूर्णरुपमा कार्यान्वयनमा नआएको भन्दै वैशाख १ गतेबाट लागू नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । वैशाखदेखि पर्यटक बोक्ने गाडीका चालक र सहचालकले अनिवार्यरुपमा पोसाक र परिचयपत्र हुनुपर्ने छ । पर्यटक बोक्ने सवारीसाधनलाई व्यवस्थित गर्न पर्यटन विभागले पोसाक र परिचयपत्र अनिवार्य गर्न लागिएको जनाएको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोसाक र परिचय पत्र यसअघि नै अनिवार्य भनिए पनि हालसम्म पूर्णरुपमा कार्यान्वयनमा नआएको भन्दै वैशाख १ गतेबाट लागू नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
पछिल्लो समय पर्यटकलाई नै लक्ष्य गरी धेरै सवारीसाधन सञ्चालनमा आएका छन् । त्यस्तै होटल तथा ट्राभल एजेन्सीहरुले पनि पर्यटक गाडी सञ्चालन गर्दै आएका छन् ।
विदेशी एवम् स्वदेशी पर्यटकले सहजरुपमा गाडी चिन्न सकून् भन्ने उद्देश्यले गाडीका कर्मचारीलाई अनिवार्यरुपमा पोसाकको व्यवस्था गरिएको विभागका महानिर्देशक घिमिरेको भनाइ छ । उनले निश्चित पोसाक नभएकै कारण धेरै पर्यटक झुक्किने गरेको बताए ।
भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेसँगै पर्यटक बोक्ने सवारीसाधनलाई पनि व्यवस्थित गर्दै लैजान लागिएको विभागले जनाएको छ । पर्यटक बोक्ने सवारीसाधनका कर्मचारीले पोसाकसँगै बोलिवचन पनि केही परिवर्तन गरुन् भन्नका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जनाइएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष रामशरण कार्कीले आगामी वैशाखबाट पूर्णरुपमा पोसाक र परिचयपत्र लगाउने गरी तयारी भइरहेको बताए । उनले देशभर करिब ५ हजार पर्यटक बोक्ने सवारीसाधन सञ्चालनमा रहेको बताउँदै विभागको निर्देशनअनुसार नै काम अगाडि बढिरहेको बताए ।