विश्वभरका सेयर बजार ओरालो

विश्वभरका सेयर बजार एकपछि अर्को गर्दै ओरालो लाग्ने क्रम रोकिएको छैन । सेयर बजारले अनपेक्षित गति लिँदा अहिले विश्व बजारमा हाहाकार मच्चिएको छ ।

अमेरिकी सेयर बजारमा सोमबार भएको ठूलो गिरावटको असरले आज मङ्गलबार भारतीय बजारसहित सम्पूर्ण एसियाभरी र विश्वका अन्य स्थानमा पनि खलबली मच्चिएको छ । विश्वभरका सेयर बजार एकपछि अर्को गर्दै ओरालो लाग्ने क्रम रोकिएको छैन । सेयर बजारले अनपेक्षित गति लिँदा अहिले विश्व बजारमा हाहाकार मच्चिएको छ ।

भारतीय सेयर बजारमा आज मङ्लबार केही सेकेन्डभित्रै लगानीकर्ताको ५ लाख करोड स्वाहा भएको छ । भारतको मुख्य सेयर बजार सूचक सेन्सेक्सको कारोबार सुरुआत भएसँगै १२७४ अङ्कको गिरावट देखिएको छ । एक्कासी बजार घट्दा लगानीकर्ताले डरलाग्दो सपना देखेजस्तो अनुभव गरेका छन् । सुरुमै उँधोमुन्टो लागेको भारतीय बजार एकछिनमा केही सम्हालिएर बेन्चमार्क इन्डेक्सले रिकभरी सुरु गरेपनि दलाल स्ट्रिटका लागि मङ्लबार ‘ब्ल्याक ट्युस्डे’ बन्यो । आखिर मङ्गलबार त्यस्तो के भयो र बजारलाई घुँडा टेक्न बाध्य पार्यो ?

आज जापानको निक्की ४.६ प्रतिशत, अस्ट्रेलियाको सेयर बजार ३ प्रतिशत, दक्षिण कोरियाको बजार २ प्रतिशत तथा भारतीय बीएसई सेन्सेक्स १२०० अङ्क तल झरेर खुलेका हुन् । हाम्रो आफ्नै धितोपत्रको दोस्रो कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि हिजो दोहोरो अङ्कले घटेको थियो । कारोबार पनि अघिल्लो दिनको तुलनामा १६ करोड घटेर ३० करोड रुपैयाँमा सीमित भएको थियो । आज मङ्गलबारै पनि नेप्से इन्डेक्स ६ अङ्कभन्दा बढीले घटेको छ र घट्ने क्रम जारी छ ।

आज भारतीय सेयर बजार पूरै राताम्य भएर खुले । उच्च आय गर्ने सूचीमा यो समाचार लेख्दासम्म कुनै पनि कम्पनीका सेयर आएका छैनन् । लगानीकताहरु सेयर बेच्न यति लालायित छन् कि कुनै पनि सेक्टर हरियो चिह्नमा देखिएको छैन । आईटी, बैङ्किङ, फर्मास्युटिकल, फाइनान्ससमेत धेरैजसो क्षेत्रमा बिक्रीको घुइँरो छ ।

उता, हिजो अमेरिकी डाउ जोन्स ११०० प्वाइन्ट्सभन्दा पनि धेरै घटेका थियो । डाउ जोन्स ११७५.२ अङ्क यानी ४.६ प्रतिशतको ठूलो पहिरो गएर २४३४५.७५ को स्तरमा बन्द भएको थियो । हङ्कङ् र जापानको सेयर बजारमा १२०० प्वाइन्टको गिरावट देखियो । एस ऐन्ड पी ५०० स्टक इन्डेक्स ३.८ प्रतिशत र नेस्डेक ३.७ प्रतिशतको गिरावटसहित बन्द भएका थिए ।

अमेरिकी बजार आफ्नो उत्कर्षभन्दा ७ प्रतिशतभन्दा तल खस्किसकेको छ ।