क्यानका फ्लाइट सेफ्टी प्रमुख पोखरेलले कुन आधारमा ५ प्लस १ लागू गर्ने निर्णय गरे ?

नियामक निकायको प्रमुख भएर बसेका पोखरेलले यस्तो कच्चा निर्णय कसरी गरे ? उनलाई मान्छेको सङ्ख्याका आधारमा यसको मापन गरिँदैन भन्ने कुरा प्रस्टसँग थाहा छ । थाहा नभएर गरिएको निर्णय होइन । तर, कसरी यस्तो भयो ? त्यो रहस्यको विषय हो ।

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) जस्तो प्राविधिक संस्थाले केही महिनाअघि हेलिकप्टरमा ५ प्लस १ को निर्णय गर्यो । त्यो पनि नागरिक उडड्यन सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक राजन पोखरेलको रोहबरमा ।

पोखरेल हवाइ सुरक्षा क्षेत्रका विज्ञ हुन् । उनै विज्ञका अगाडि अथवा उनको पहलमा हेलिकप्टरमा ५ प्लस १ लागू गरे, जसको कुनै आधार छैन । संसारभर तौललाई आधार मानेर नियमन गरिन्छ । र, तौललाई नै हेरेर कानुन बनाइन्छ ।

तर, प्राधिकरणले केही समयअघि ५ प्लस १ लागू गरेर जहाज तथा हेलिकोप्टर बनाउने विश्वको अग्रणी कम्पनी एयरबसलाई ‘च्यालेन्ज’ गरेको छ । उत्पादक कम्पनीले पचासौं पटक परीक्षण गरेर सिट राखेको हुन्छ । बी टुमा ५ प्लस १ र बी थ्री ईमा ६ प्लस १ सिट राखेको हुन्छ ।

दक्ष प्राविधिकले प्रमाणित गरेपछि मात्रै उत्पादक कम्पनीले कुनै हेलिकप्टरमा उसले उडान गर्न सक्ने क्षमताअनुसार सिट बनाएका हुन्छन् । उनीहरुले तौललाई मुख्य आधार मानेर हेलिकप्टरले कति क्षमता वहन गर्न सक्छ भन्ने निर्धारण गर्छन् । तर, क्यानका उपमहानिर्देशक पोखरेलले सङ्ख्याका आधारमा हेलिकप्टरको मापन गरेका छन् । जुन सरासर अवैज्ञानिक छ ।

नियामक निकायको प्रमुख भएर बसेका पोखरेलले यस्तो कच्चा निर्णय कसरी गरे ? उनलाई मान्छेको सङ्ख्याका आधारमा यसको मापन गरिँदैन भन्ने कुरा प्रस्टसँग थाहा छ । थाहा नभएर गरिएको निर्णय होइन । तर, कसरी यस्तो भयो ? त्यो रहस्यको विषय हो ।

हरेक जहाज होस् वा हेलिकप्टर, त्यसमा कति तौल पछाडि राख्ने, कति तौल अघि राख्ने भन्ने कुरा विज्ञ प्राविधिकले निर्णय गरेका हुन्छन् । त्यसैले जहाज तथा हेलिकप्टरले कति तौलसम्म लिएर उडान गर्न सक्छन् त्यसको मापन गरिन्छ ।

निर्माता कम्पनीले धेरै किसिमका प्राविधिक परीक्षण गरेर मात्रै आफ्ना हेलिकप्टर बजारमा पठाएका हुन्छन् । हचुवाका भरमा अगाडिपट्टि सिट राख्ने काम कुनै पनि उत्पादक कम्पनीले गर्दैन । कम्पनीले विभिन्न परीक्षण विधिबाट आफ्नो उत्पादनले कस्तो ‘परफर्मेन्स’ दिन सक्छ भन्ने निर्धारण गरेको हुन्छ ।

एयरबस तथा बोइङ जस्ता विश्वप्रख्यात कम्पनीले पैसाका लागि जे पनि गर्दैनन् । उनीहरुको प्रथामिकतामा पैसाभन्दा सुरक्षा बढी पर्छ । अगाडिपट्टि सिट राख्नुको तात्पर्य त्यसमा यात्री बस्न मिल्छ भन्ने हो । तर, त्यो सिटमा कति तौलसम्मको राख्न मिल्छ, त्यति नै तौलको राख्नुपर्यो ।

जहाज तथा हेलिकप्टरमा सङ्ख्या गौण हो, तौल अहम् कुरा हो । सङ्ख्याको पनि कुरा आउँछ । त्यही भएर बी टुमा ५ प्लस १ सिट राखिएको हो र बी थ्री ईमा ६ प्लस १ सिट राखिएको हो ।

चाहेको भए निर्माता कम्पनीले ६ को ठाउँमा ८ सिट पनि राख्न सक्थ्यो । ७ को ठाउँमा ९ सिट पनि राख्न सक्थ्यो । तर, त्यसो गर्दैनन् । त्यसैले जति सिट राखिएको छ, त्यति मान्छे राख्न सकिन्छ तर जति तौल भनिएको छ त्यसभन्दा बढी राख्न मिल्दैन बरु सिटभन्दा थोरै यात्री राख्न सकिन्छ ।

हरेक हेलिकप्टर वा जहाजको अधिकतम ‘टेकअफ’ वेट ल्यान्डिङ वेट हुन्छ । साथै टेकअफ र ल्यान्डिङ हुने स्थानको तापक्रमले पनि फरक पार्छ ।

प्राधिकरणका उपमहानिर्देशक पोखरेलले सम्पूर्ण व्यवसायी तथा पाइलटको रोहबरमा निर्णय गरिएको बताए । ‘क्यान आफैले निर्णय गरेको होइन,’ उनले भने, ‘यसमा व्यवसायी तथा पाइलटको पनि सहमति छ ।’

संसारभर तौलकै आधारमा निर्णय गरिन्छ नि ! भन्ने प्रश्नमा पोखरेलले केही बोल्न चाहेनन् । उत्पादक कम्पनीले सम्बन्धित देशका नियामक निकायका महानिर्देशकलाई वायुयानले उडाउन सक्ने अधिकतम तौलभन्दा कम तौलमा उडाऊ भन्न सक्छ । त्यहाँ पनि तौलकै कुरा आउँछ । सङ्ख्याको कुरा विश्वमा कही कतै गरिँदैन ।

बी टु र ‘बी थ्री ई’ हेलिकप्टरबीचको राजनीतिक  भूमरीमा परेर क्यानले यस्तो निर्णय गरेको हुन सक्छ । तर, प्राविधिक व्यक्तिले प्राविधिककै हैसियतमा निर्णय गर्नुपर्ने हो । यसमा क्यानका उपमहानिर्देशक पोखरेल चुकेकै हुन् त ?