क्यानका सेफ्टी प्रमुख पोखरेलको द्वैध चरित्र : एकातिर मौसमलाई दाेष, अर्कोतिर ५ प्लस १ लागू 

पोखरेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मौसम खराबका कारण हेलिकप्टर दुर्घटना भएको बताएका छन् । फेरि उनी आफैले बी टु र बी थ्री ई हेलिकप्टरमा ५ प्लस १ लागू गरेका छन् ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक तथा सेफ्टी प्रमुख राजन पोखरेलले द्वैध चरित्र देखाएका छन् ।

पोखरेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मौसम खराबका कारण हेलिकप्टर दुर्घटना भएको बताएका छन् । फेरि उनी आफैले बी टु र बी थ्री ई हेलिकप्टरमा ५ प्लस १ लागू गरेका छन् ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना मौसमकै कारण भएको हो भने पोखरेलले किन ५ प्लस १ लागू गरे ? मौसम र ५ प्लस १ बीचमा के तालमेल छ ?

पोखरेल प्राविधिक मान्छे हुन् । तर, उनले कुन आधारमा ५ प्लस १ को निर्णय गरे ? उनले अन्तर्वार्ताका क्रममा मौसम खराब भएको र यस्ताे अवस्थामा उडान नगर्दा राम्राे हुने समेत भनेकाे भिडियाेमा सुनिन्छ ।

‘कार्यक्रमस्थलमा सहज रुपमा हेलिकोप्टर पुगेको छ,’ उनले अन्तर्वार्तामा भनेका छन् ।

यदि धेरै यात्री भएकै कारण दुर्घटना भएको भए कसरी कार्यक्रम स्थलसम्म हेलिकप्टर पुग्यो त ? पोखरेलले हचुवाका भरमा यस्तो निर्णय गरेका हुन् ?

एउटै घटनालाई पोखरेलले आपूmअनुकूल व्याख्या गरेका छन् । अन्तर्वार्तामा मौसमका कारण दुर्घटना भएको अनुमान लगाएका छन् भने यता हेलिकोप्टर उडानमा ५ प्लस १ लागू गरेका छन् ।

हेलिकप्टरले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्ने हुँदैन

क्यानले क्षमताभन्दा बढी मान्छे बोकेकाले हेलिकप्टर दुर्घटनामा परेको निष्कर्ष निकालेको र त्यही भएर ५ प्लस १ बनाएको हो । तर, हेलिकप्टरले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्ने हुँदैन । हेलिकप्टरले कति तौल बोक्ने भन्ने हुन्छ ।

बी टुले कति तौल र बी थ्रीले कति तौल बोक्न सक्छ भन्ने हुन्छ । र हेलिकप्टरले कति तौल बोक्न सक्छ भन्ने कुरा तीन चिजमा भर पर्छ । १. बाहिरको तापक्रम कति, २. कति उचाइ छ, र ३. हावाकाे वेग कति छ भन्ने कुराले जहाजले कति तौल बोक्न सक्छ भन्ने निर्धारण गर्छ ।

जति चिसो भयो त्यति क्षमता बढ्दै जान्छ । जति तापक्रम बढ्दै गयो हेलिकप्टरको क्षमता घटदै जान्छ ।

जति उचाइ बढ्दै गयो क्षमता घट्दै जान्छ । उचाइको आफ्नै इफेक्ट हुन्छ, तापक्रमको पनि आफ्नै इफेक्ट हुन्छ । दुई ओटा कुरा अलग अलग हुन् । त्यही उचाइमा काठमाडौंबाट उड्दा २० डिग्री सेन्टिग्रेटमा जति मान्छे बोक्न सकिन्छ, १० डिग्रीमा त्योभन्दा बढी बोक्न सकिन्छ । अथवा ३० डिग्रीमा घटी बोक्न सकिन्छ । तर, काठमाडौंमा २० डिग्रीमा जति बोक्न सकिन्छ, लुक्लामा २० डिग्रीमा त्यति बोक्न सकिन्न । यी दुईकोे उचाइ फरक छ । हरेक हेलिकप्टरको यो तापक्रममा, यति उचाइमा यति तौल बोक्न सकिन्छ भन्ने चार्ट हुन्छ । त्यस हिसाबले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्नेमा अर्थ रहँदैन ।

जहासम्म अघि दुई ओटा सिट राख्ने चलन छ, त्यो हेलिकप्टर उत्पादक कम्पनीले सर्टिफाइड गरेको हुन्छ । एउटा हेलिकप्टर कम्पनीले सर्टिफाइड गरेको कुरालाई असुरक्षित छ भनेर भन्न मिल्दैन । नयाँ हेलिकप्टर किन्दा म्यानुफ्याक्चररले सिट लगाएर दिएपछि कसरी असुरक्षित भन्न मिल्छ ?

एयरबसले नै अघि सिट फिट गर्न दिएपछि कसरी असुरक्षित भन्न सकिन्छ ? तर, कम्पनीले भनेको हुन्छ, त्यहाँ एक सय ५० किलोभन्दा बढी तौल राख्न पाइदैन । अघि पट्टीको सिटमा दुई जना बढी तौल भएका मान्छे बस्न मिल्दैन । उदाहरणको रुपमा ८०/८० किलोको मान्छे राख्न पाइँदैन । र, अर्को कुरा के हेर्नुपर्छ भने त्यहाँ सेन्ट्रल ग्राविटी हेर्नुपर्छ । हेलिकप्टरमा तौल राख्दा मिलाएर राख्नुपर्छ । एकातिर घटी र अर्कोतिर बढी तौल नहोस् भन्नका लागि यस्तो गरिन्छ । त्यो पाइलटले मिलाउने हो, मिलाउँछन् । यदि तौल मिलेन भने पाइलटलाई उडाउन गाह्रो हुन्छ ।