सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको सङ्ख्या र रकम दुवैमा बढोत्तरी भएको हो ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको सङ्ख्या र रकम दुवैमा बढोत्तरी भएको हो ।

अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कुल ४६ ओटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका हुन् । यसरी विभिन्न नौओटा कम्पनीको दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ), तीन कम्पनीको दुई अर्ब ६७ करोड रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ), चार कम्पनीको सामूहिक लगानी कोषको चार अर्ब ७० करोड रकम बराबरको इकाई निष्काशन र ३० कम्पनीको १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिइएको छ ।

बोर्डकाअनुसार ३० ओटा सङ्गठित संस्थाले सात अर्ब ८२ करोड रकम बराबरको बोनस सेयर दर्ता गराएका छन् । गत आवमा यस अवधिमा ५२ ओटा कम्पनीले १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गराएका थिए । बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो बनाएको छ । तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र अनुमति दिने गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । बोर्डमा विभिन्न १५ संस्थाले आईपीओ निष्काशनको लागि आवेदन दिएकोमा पाँच कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा छन् ।

यस्तै दस कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यसैगरी १७ कम्पनीले हकप्रद सेयर निष्काशनको लागि अनुमति माग गरेकोमा तीनओटा अनुमति प्राप्त हुने चरणमा पुगेको छ । आवेदन दिएका विभिन्न १५ कम्पनीको तीन अर्ब ९० करोड तथा १७ कम्पनीको ११ अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको विभिन्न चरणमा छन् ।

रासस