फेवा किनारमा शिवपार्वतीको भेषमा विदेशी नागरिक

आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने सो स्थलमा गैरहिन्दू नागरिक शिवपार्वतीको भेषमा सजिएर बसिरहेको दृश्यले जोकोहिको ध्यानाकृष्ट गरेको पाइन्छ । उनीहरुसँग विभूति लगाउने र आर्शिवाद लिनेको घुइँचो उस्तै हेर्न लायक देखिन्छ ।

पोखराको फेवातालमा हुने तालबाराही सन्ध्या आरतीको समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिवपार्वतीका तस्बिर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षणको पात्र बनेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने सो स्थलमा गैरहिन्दू नागरिक शिवपार्वतीको भेषमा सजिएर बसिरहेको दृश्यले जोकोहिको ध्यानाकृष्ट गरेको पाइन्छ । उनीहरुसँग विभूति लगाउने र आर्शिवाद लिनेको घुइँचो उस्तै हेर्न लायक देखिन्छ ।

शिव पार्वतीको भेषधारी उनीहरु बोल्न भने धेरै रुचाएनन् । आफ्नो परिचय दिने क्रममा ऋषि भारती भएको बताए भने महिलाले माया भारती भएको परिचय दिइन् । कुन देशबाट आउनुभएको हो भन्ने प्रश्नमा पृथ्वी माताबाट आएको भन्ने उनीहरुको जवाफ थियो ।

धेरै प्रश्न गरेपछि आफुहरु १० वर्षदेखि नेपाल र भारतमा बस्दै आएको र पोखरा तीन दिनअघि आएको बताए । आत्म कल्याणका लागि हिन्दुधर्म अनुसरण गरेको बताउने उनीहरुले संस्कृत, हिन्दी र अंग्रेजी भाषा मिश्रित लवजमा सोधेको प्रश्नको एकदम छोटो जवाफ दिन्थे । सो स्थानदेखि साढे पाँच किलोमिटर दूरीमा रहेको सनातन आश्रममा बस्ने गरेको उनीहरुको भनाइ छ ।

तीन दिन देखि सन्ध्या आरतीको समयमा मात्रै देखिने गरेको स्थानीयको बताए । त्यहाँ पुग्नेले उनीहरुलाई ‘पैसा चढाउँछन्, फोटो खिच्छन् । सेतो विभूति लगाइदिएपछि आर्शीवाद दिएझैं गुनगुनाउँछन्,’ त्यहाँ आउने पर्यटकले १० देखि माथि पाँच सय, एक हजार रुपैयाँसम्म रकम चढाएर उनीहरुलाई ढोग्ने गरेको स्थानीय प्रत्यक्षदर्शी सुनील क्षेत्रीले बताए । एक घण्टाको बसाइमा पाँच हजारभन्दा बढी रकम संकलन गरेर हिँड्ने गरेको ती प्रत्यक्षदर्शीको भनाई छ ।

केही दिनदेखि देखिएका गैरहिन्दूहरुले शिवपार्वतीको भेषमा पैसा संकलन गर्ने तरिका गज्जबको लागेको माता तालबाराही आरती सेवा समितिका सदस्य तुलसी दाहालले बताए । ‘सन्ध्याको आरती समयलाई लक्षित गरी उहाँहरु शिव पार्वती भेषमा आउने र पैसा संकलन गरेर जाने कुरालाई कति सकारात्मक रुपमा लिन सकिन्छ ?’ उनले भने, ‘कोहीकसैले हिन्दूधर्म अनुसरण गर्छन् भने त्यो सकारात्मक पक्ष हो । तर धर्मको आवरणमा पैसा कमाउने मात्रै धन्दा हो भने त्यसको छानबिन हुनुपर्छ ।’

तालबाराही सन्ध्या आरती २०७५ साल असोज २४ गतेबाट सञ्चालित छ । दिनको ४५ सयदेखि ५ हजार सम्म व्यवस्थापकीय खर्च लाग्ने दाहालको भनाइ छ । सन्ध्या आरतीको मौका छोपेर विदेशी नागरिकबाट भइरहेका यस्तो गतिविधिले भक्तजना भ्रम सृजना हुने उनले बताए । यो गतिविधिलाई तत्काल रोकेर छानबिन गर्नुपर्ने उनको माग छ ।

यस विषयमा छानबिनको पहल गरिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले बताए । आफूले पनि भर्खर मात्र यस विषयमा थाहा पाएको वास्तविकता बुझ्न पहल गरिने र सोहीअनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

पोखरा पर्यटन प्रहरीका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले यस विषयमा कहीँकतैबाट उजुरी नपरेको भन्दै त्यसबारे तुरुन्तै बुझ्ने बताए । ‘यदि यस्तो हो भने आज बेलुका हामीले निगरानी गर्छौ । उहाँहरुको भिसासहित अन्य पक्षको अनुसन्धान गर्छौं,’ उनले भने । रासस