सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले ७२ सिट क्षमता भएको नयाँ जहाज हाल फ्रान्समा निर्माण भइरहेको जानकारी दिए । उनले नयाँ लगानीकर्तामा सेयर हस्तान्तरणको काम नसकिएका कारण जहाज ल्याउन ढिलाइ भएको बताए । कम्पनीले यसअघि वैशाखभित्रै जहाज भित्र्याउने तयारी गरेको थियो ।
काठमाडौं । भारतीय लगानीकर्ताको प्रवेशसँगै सौर्य एयरलाइन्सले आगामी भदौभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । केही महिनाअघि मात्र भारतीय लगानीकर्ता कुबेर ग्रुपले खरिद गरेको सौर्यले करिब २ अर्ब लगानीमा नयाँ एटीआर जहाज ल्याउन लागेको हो ।
सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले ७२ सिट क्षमता भएको नयाँ जहाज हाल फ्रान्समा निर्माण भइरहेको जानकारी दिए । उनले नयाँ लगानीकर्तामा सेयर हस्तान्तरणको काम नसकिएका कारण जहाज ल्याउन ढिलाइ भएको बताए । कम्पनीले यसअघि वैशाखभित्रै जहाज भित्र्याउने तयारी गरेको थियो ।
हाल सौर्यले नयाँ लगानीकर्ताहरुको सेयर हस्तान्तरणका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक कागजपत्र पेस गरिसकेको जानकारी दिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेयर लगत दिनेबित्तिकै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई औपचारिक जानकारी दिने उनको भनाइ छ ।
क्यानले अनुमति दिएपछि जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनका लागि पत्र पठाउने र मन्त्रालयले जहाज खरिदका लागि फ्लीट दिएलगत्तै प्रक्रिया अगाडि बढाउने बजार प्रमुख खनालले जानकारी दिए ।
सौर्यसँग हाल सोही प्रकारका दुइटा जहाज सञ्चालनमा छन् । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ ।