हिमाल आरोहीबाट २५ करोड रोयल्टी सङ्कलन, सगरमाथाको मात्रै २३ करोड ९२ लाख उठ्यो

४६ आरोही समूहका आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ४६ पुगेको छ । ४६ समूहबाट यस बर्ष १ सय ९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् । ४६ आरोही समूहका आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५ सय ७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।

कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई–दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।

सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए ।

सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल १३ सयभन्दा बढी रहेको बताइन्छ । रासस