पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले आफ्ना सदस्यहरुलाई पर्यटन व्यवसाय व्यवस्थापन तालिम शुरु गरेको छ । आन्तरिक भ्रमण वर्ष २०१९ लाई लक्षित गरि पर्यटन क्षेत्रमा आतिथ्यता, गुणात्मक सेवा, र व्यवस्थापकीय पक्षका बारेमा दुई दिने तालिमको आइतवार नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले उद्घाटन गरे ।
उनले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महिला व्यवासायीको योगदान महत्पूर्ण रहेको उल्लेख गरे । ‘पर्यटन वृहत क्षेत्र भएकाले गुणात्मक प्रवद्र्धनको लागि तालिम निकै उपयोगी हुन्छ,’ उनले भने । गुणात्मक सेवा र व्यवस्थापकीय पक्षमा व्यवसायी महिलाहरु सहभागिताले यस क्षेत्रको विकासमा भूमिका खेल्ने उनले बताए ।
तालिमको पहिलो दिन पोखरा प्राविधिक शिक्षालय गण्डकी प्रदेशका प्रमुख जीवन प्रसाद भण्डारीले ‘पर्यटन र पर्यटकको’ विषयमा प्रशिक्षण दिएका थिए । उनले हरेक व्यवसायलाई गुणात्मक सेवा प्रदान गर्ने सम्बन्धित क्षेत्रको बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान आवश्यक हुने औल्याए ।
संस्थाका सल्लाहकार देवका पहारीले पर्यटन क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहे पनि विविध कारणले व्यवसायीक पहिचानकासाथ अगाडि आउन नसकेको बताइन् । ‘तालिमले व्यवसायी महिलाको आत्मविश्वास बढाउने यस क्षेत्रको विकासमा भूमिका खेल्छ,’ उनले भनिन् ।
संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रको गुणात्मक विकासलाई ध्यान दिदै व्यवसायीक महिलको क्षमता तथा दक्षता अभिवृद्धिकालागि तालिमको आयोजना गरेको बताइन् ।
कार्यक्रम संयोजक शर्मिला न्यौपानेले तालिमको आवश्यकता, महत्व र विषयबस्तुको बारेमा प्रकाश पारिन् । संस्थाका ६० जना सदस्यको सहभागिता रहेको थियो ।