स्पेनिस पर्यटकको लेक लागेर मृत्यु

खुम्बु पासङल्हमु गाउँपालिका ५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक स्पेनिस नागरिकको मृत्यु भएको छ । खुम्बु पासङल्हमु गाउँपालिका ५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लुक्लाबाट ७ जनाको टोली आधारशीविरतर्फ जाँदै गर्दा बाटोमै बिरामी परेपछि थ्रिपास गेस्ट हाउसमा लगिएको भएपनि होटलमा नै उनको मृत्यु भएको प्रहरीको भनाई छ । एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यलय नाम्चेबाट करिब १२ घण्टाको पैदल दुरीमा पर्दछ ।