सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय

प्रदेश मातहतका संरचना नभएकाले बजेट कार्यान्वयनमा कठिनाई भएको भन्दै मन्त्रालयले नयाँ संरचना निर्माण गरी बजेट कार्यान्वयनमा सहजता ल्याउन फिल्ड कार्यालय स्थापना गर्ने तयारी अघि बढाएको जनाएको छ ।

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास फिल्ड कार्यालय राख्ने तयारी अघि बढाइएको हो ।

प्रदेश मातहतका संरचना नभएकाले बजेट कार्यान्वयनमा कठिनाई भएको भन्दै मन्त्रालयले नयाँ संरचना निर्माण गरी बजेट कार्यान्वयनमा सहजता ल्याउन फिल्ड कार्यालय स्थापना गर्ने तयारी अघि बढाएको जनाएको छ । प्रदेशको पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षका लागि चार सय बढी पर्यटनका योजनामा बजेट विनियोजन गरेको छ ।

ती योजना कार्यान्वयनका लागि मन्त्रालयले योजना प्रत्येक एकाइमा दुई सव–इञ्जिनीयर रहने गरी छ जना सव इञ्जीनीयर र दुई जना सिभिल इञ्जीनीयरको दरबन्दी कायम गरी करारमा नियुक्तसमेत गरिसकेको जनाएको छ । मन्त्रालयका योजना अधिकृत भोजराज पाठकका अनुसार मन्त्रालयले पर्यटन शीर्षकमा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न आवश्यक तयारी भइसकेको छ ।

मन्त्रिपरिषद्को गत पुस २६ गतेको बैठकले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन कार्यवधि अनुमोदन गरेकोे थियो । मन्त्रालयले चालू आर्थिक वर्षका लागि पर्यटन शीर्षकमा २३ करोड ८२ लाख र सङ्घीय सरकारको चार करोड ५१ लाख सशर्त अनुदान समेत गरी २८ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ । रासस