सगरमाथाको उचाई नाप्न जानेहरुलाई बिदाई गर्दै प्रधानमन्त्रीले भने–सेन्टीमिटरसहितको उचाई नापेर ल्याउनुस्

टोलीलाई विदाई गर्दै प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाई नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।

काठमाडौं । सगरमाथाको उचाई नाप्न एक टोली त्यसतर्फ प्रस्थान गर्दै छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ४ जना कर्मचारीको टोली बुधाबर त्यसतर्फ जान लागेको हो । टोलीलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई भेट गरेका छन् ।

टोलीलाई विदाई गर्दै प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाई नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए । ‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाई मापन हुँदैैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाई नापेर ल्याउनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाई हुनेछ ।’

सरकारको तर्फबाट सगरमाथाको उचाई मापन कार्य ऐतिहाँसिक भएको प्रधानमन्त्री ओलीको भनाई छ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भन्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाई नापेर फर्कने योजना छ ।