नेपाल एयरलाइन्सलाई फरक व्यवहार ! फ्लाई दुबईसँग एयरपोर्ट प्रमुखको सम्बन्ध के ?

जहाजभित्र रहेका २ सय ७६ जना यात्रुमध्ये आधाभन्दा बढीले जहाजमै रात बिताए भने आधालाई एयरलाइन्सले होटलमा लगेर राख्यो । जसका कारण एयरलाइन्सलाई लाखौं रुपैयाँ घाटा मात्रै भएन, यात्रुको नेपाल एयरलाइन्सप्रतिको विश्वास पनि गुम्यो ।

काठमाडौं । चैत १९ गते राति नेपाल एयरलाइन्सको जहाजले दुबई उडान गर्न विमानस्थलसँग ४ मिनेटको समय माग्यो । विमानस्थलले अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू भइसकेको भन्दै उडान अनुमति दिएन र जहाज उड्न पाएन ।

जहाजभित्र रहेका २ सय ७६ जना यात्रुमध्ये आधाभन्दा बढीले जहाजमै रात बिताए भने आधालाई एयरलाइन्सले होटलमा लगेर राख्यो । जसका कारण एयरलाइन्सलाई लाखौं रुपैयाँ घाटा मात्रै भएन, यात्रुको नेपाल एयरलाइन्सप्रतिको विश्वास पनि गुम्यो ।

त्यस्तै प्रकृतिको घटना मङ्गलबार साँझ पनि दोहोरियो । फ्लाई दुबईले विमानस्थल बन्द हुनुअगावै जहाज उडाउन सकेन । त्यसपछि विमानस्थसँग एयरलाइन्सले थप समय माग ग¥यो । र फ्लाई दुबईले मागेको समयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नियम उल्लङ्घन गर्दै नोटाम जारी भएपछि पनि थप १७ मिनेट समय उपलब्ध गराए ।

‘दुवै घटना एउटै प्रकृतिका हुन् । तर, क्षेत्रीले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र विदेशी एयरलाइन्स फ्लाई दुबईलाई फरक व्यवहार गरेपछि घटना थप रहस्यमय बन्दै गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च स्रोतले भन्यो, ‘नियम नै उल्लङ्घन गरेर फ्लाई दुबईलाई उडान दिनुका पछाडि ठूलो चलखेल छ ।’

आफ्नो देशको ध्वजावाहक विमान सिध्याउन र विदेशी कम्पनी ‘पोस्न’ क्षेत्री अग्रसर भएको क्यान स्रोतको दाबी छ ।

क्यान स्रोतका अनुसार नोटाम लागू भएपछि कुनै पनि जहाजलाई उडान अनुमति दिन मिल्दैन । यदि नोटाम लागू भएपछि पनि विमानस्थल खुला गर्नुपर्ने अवस्था आएमा २ देखि ४ घण्टा अगावै सार्वजनिक सूचना जारी गर्नुपर्छ । तर, मङ्गलबारको घटनामा कुनै सूचना जारी नगरी महाप्रबन्धक क्षेत्री आफैंले निर्णय गरेको क्यानको दाबी छ ।

नोटाम लागू भइसकेको अवस्थामा जहाजलाई उडान अनुमति दिएर जहाजमा कुनै घटना घटेमा बिमा दाबी गर्नसमेत नमिल्ने क्यानका उच्च अधिकारीको भनाइ छ ।

विमानस्थलले चार मिनेट समय नदिएपछि नेपाल एयरलाइन्सको जहाज रोकिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० गते नै छानबिन समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइरहेको छ ।

‘घिट्घिटो अवस्थाबाट गुज्रिएको नेपाल एयरलाइन्सलाई अप्ठयारोमा पारेर र विदेशी एयरलाइन्ससामू घुँडा टेकेको देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यस विषयमा मन्त्रालयले छानबिन गर्छ ।’

स्रोतका अनुसार विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले नेपाल एयरलाइन्सको जहाजभन्दा विदेशी जहाजलाई उडानमा विषेश प्राथमिकता दिने गरेको छ । विदेशी जहाज उडाउँदा विमानस्थललाई मोटो रकम नाफा हुने र नेपाल एयरलाइन्सले कुनै रकम नदिने गरेका कारण प्राथमिकतामा नपरेको हुन सक्ने उच्च अधिकारीको भनाइ छ ।

हाल विमानस्थलको धावनमार्ग मर्मतका लागि भन्दै चैत १८ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको छ । फ्लाई दुबईले दुबई–काठमाडौं–दुबई दैनिक तीन ओटा उडान गरिरहेको छ ।