नियमविपरीत उडान अनुमति दिएपछि एयरपोर्ट प्रमुख क्षेत्रीलाई साेधियाे स्पष्टीकरण

एउटै प्रकृतिको घटना हुँदा चैत १९ गते नेपाल एयरलाइन्सलाई नोटाम जारी भइसकेको भन्दै उडान रोकेको थियो । तर, महाप्रवन्धक क्षेत्रीले प्mलाइ दुवइलाई नोटाम जारी भइसकेपछि पनि उडान अनुमति दिएका थिए ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

एउटै प्रकृतिको घटना हुँदा चैत १९ गते नेपाल एयरलाइन्सलाई नोटाम जारी भइसकेको भन्दै उडान रोकिएको थियो । तर, महाप्रबन्धक क्षेत्रीले फ्लाई दुबईलाई नोटाम जारी भइसकेपछि पनि उडान अनुमति दिएका थिए ।

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले एयरपोर्टका महाप्रबन्धक क्षेत्रीले नियमविपरीत काम गरेकाले स्पष्टीकरण सोधिएको बताए । ‘पहिलो चरणमा स्पष्टीकरण सोधिएको छ,’ उनले क्यापिटल नेपालसँग भने ‘यदि चित्त बुझ्दो जवाफ नआए कारबाही हुन्छ ।’

‘नियम सबैलाई एउटै हुनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । तर, यहाँ नेपाल एयरलाइन्सलाई पाखा र विदेशी एयरलाइन्सलाई काखा गरेको देखियो,’ उनले भने, ‘किन यस्तो गरिएको हो, हामी अध्ययन गर्छौ ।’

क्षेत्रीले नेपाल एयरलाइन्सलाई फरक व्यवहार  गरेका थिए । त्याे दिन कानुनलाई देखाएर उडान राेकेका थिए । तर, हिजाे बेलुका साेही कानुनकाे बर्खिलाप गरेर फ्लाई दुबईलाइ उडान अनुमति दिएका हुन् ।

नेपाल एयरलाइन्सलाई एउटा नियम र विदेशी एयरलाइन्सलाई अर्को नियम लाग्ने भन्ने हुँदैन । १० बजेपछि कसैलाई पनि उडान अनुमति दिन नमिल्ने सापकोटाले जानकारी दिए । तर, विमानस्थलले कुन आधारमा फ्लाई दुबईलाई उडान दियो, त्यसको छानबिन हुने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल एयरलाइन्सलाई सिध्याउने खेलमा लाग्ने र विदेशी एयरलाइन्सलाई पोस्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।