पछिल्लो समय नेपाल एयरलाइन्सका जहाजभन्दा विदेशी कम्पनीका जहाजलाई बढी प्राथमिकता दिन खोजेको भन्दै प्रधानमन्त्री ओली रुष्ट भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजावाहक जहाजलाई सिध्याएर विदेशी कम्पनी उकास्ने काम भएको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाल एयरलाइन्सका जहाजभन्दा विदेशी कम्पनीका जहाजलाई बढी प्राथमिकता दिन खोजेको भन्दै प्रधानमन्त्री ओली रुष्ट भएका हुन् ।
बुधबार नेपाल भ्रमण वर्ष २०२० को मूल समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीतर्फ इङ्गित गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
विमानस्थलमा भएको पछिल्लो दुई घटनालाई लिएर प्रधामन्त्री ओली रुष्ट भएका छन् । गत १९ गते नेपाल एयरलाइन्सलाई ४ मिनेट समय नदिएर विमानस्थलले २ सय ७६ जना यात्रुलाई अलपत्र पारेको थियो भने मङ्गलबार फ्लाई दुबईलाई अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लङ्घन गरी उडान अनुमति दिएको थियो ।
नेपाल एयरलाइन्सलाई समय नदिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति बनाएर छानबिन गरिरहेको छ भने फ्लाई दुबईलाई १७ मिनेट थप समय दिएको विषयमा महाप्रबन्धक क्षेत्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।