३ करोड ४४ लाखमा पर्वत र बागलुङमा ८० ओटा नमुना कृषि फर्म बन्दै

कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषि ज्ञान केन्द्र पर्वतले नमुना फर्म बनाउने भएको हो । ज्ञान केन्द्रकाअनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

पर्वत । पर्वत र बागलुङमा ८० ओटा नमुना कृषि फर्म बन्ने भएका छन् । कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषि ज्ञान केन्द्र पर्वतले नमुना फर्म बनाउने भएको हो । ज्ञान केन्द्रकाअनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

कार्यालयले विभिन्न ९ओटा बाली समेटेर नमुना फर्म बनाउन लागेको जानकारी दिएको छ । मिश्रित बालीका ३२, तरकारीका २६, महुरीका १०, सुन्तलाका ५ , फलफुलका २, अलैचीका २, अर्गानिक तरकारी, किबी खेती र च्याउका १÷१ ओटा नमुना फर्म सञ्चालन गर्न कृषकहरुलाई अनुदान सम्झौता गरि रकम वितरण गर्न थालिएको छ ।

कृषकहरुबाट माग संकलन गरि अहिले धमाधम अनुदान सम्झौता गर्न थालिएको कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले जानकारी दिए । एउटा फर्मका लागि २ लाख ५० हजार देखि ४ लाख ८५ हजार रुपैयाँ अनुदान रकम प्रदान गरिने रेग्मीले बताए । एउटा सामूहिक बाहेक अरु सबै व्याक्तिगत रुपमा कृषि पेशा गर्न निवेदन आएकोमा कार्यालयले कृषकहरुलाई कार्यालयमा बोलाएर अनुदान सम्झौता गरिरहेको छ ।

पर्वत र बागलुङ जिल्ला हेर्ने गरि पर्वतको कुश्मामा प्रदेश मातहत स्थापना भएको कृषि ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र व्लक विस्तार, कृषि वन प्रणाली, साना सिँचाई, कृषि यान्त्रिकरण लगायतका कृषिमुखी कार्यक्रम सार्वजनिक गरेको छ ।