‘इन्जिनियरलाई सोधेर उडान अनुमति दिएको हुँ’– महाप्रबन्धक क्षेत्री

महाप्रबन्धक क्षेत्रीले मङ्गलबार राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भइसकेको अवस्थामा १७ मिनेट समय दिएर फ्लाई दुबईलाई उडान अनुमति दिएको विषयमा बुधबार मन्त्रालय र क्यानले २४ घण्टे स्पष्टीकरण मागेका थिए ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण बुझाएका छन् ।

महाप्रबन्धक क्षेत्रीले मङ्गलबार राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भइसकेको अवस्थामा १७ मिनेट समय दिएर फ्लाई दुबईलाई उडान अनुमति दिएको विषयमा बुधबार मन्त्रालय र क्यानले २४ घण्टे स्पष्टीकरण मागेका थिए ।

क्यापिटलसँग कुरा गर्दै महाप्रबन्धक क्षेत्रीले रनवेको काम सुरु नभएका कारण इन्जिनियरहरुसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको बताए । जहाज १० बजे पुस ब्याक गर्न तयार भइसकेको र सबै यात्रुहरु भित्र पसेपछि टावरले आफूलाई जानकारी गराएको उनको भनाइ छ । टावर र सम्बन्धित एयरलाइन्सलाई सोध्दा ५ देखि ७ मिनेटभित्रै जहाज उड्नसक्ने जानकारी दिएपछि मानवताका नाताले कुनै पनि यात्रुलाई असर नपरोस् भन्ने उद्देश्यले उडान अनुमति दिएको बताए ।

नेपाल एयरलाइन्सको जहाजमा यात्रुहरु अलपत्र परेकाले त्यस्तै अवस्था नहोस् भन्ने भावनाले आफूले अनुमति दिएको बताउँदै यसमा कुनै स्वार्थ नभएको जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेहरुको एक दिन ढिला हुँदा धेरै समस्या हुन सक्ने देखेकाले आफूले यस्तो कदम चालेको बताउँदै अबका दिनमा सम्बन्धित एयरलाइन्सहरुलाई समयमै जहाज उडाउनका लागि समन्वय र छलफल चलाइएको बताए ।

हाल विमानस्थलको रनवे मर्मत गरिरहेको कारण विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द हुने गरेको छ । यसको प्रभाव पछिल्लो समय राति उडान गर्ने विमान कम्पनीहरुलाई परेको देखिन्छ ।