‘होडबाजीमा ऋण लिनेहरु टाट पल्टिन्छन्’- राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता

कुनै बैङ्कको शर्तभन्दा बढी ब्याज भएको खण्डमा ऋणीले बैङ्क छाड्छु भनेर अर्काे बैङ्क जान्छु भनेको अवस्थामा पुर्वभुक्तानी शुल्क लिन पाइँदैन भनेर केन्द्रीय बैङ्कले सबै बैङ्कलाई निर्देशन गरिसकेको छ ।

बैङ्कहरुमा ऋणयोग्य कोष (लोनेबल फन्ड) छैन भनिन्छ । राष्ट्र बैङ्कले कसरी व्यवस्थापन गर्दै छ ?

पछिल्लो समयमा बजारमा लोनेबल फन्ड अभाव छ । मुलुकमा संविधान बनेर कार्यान्वयन भई स्थायी सरकार बनेपछि नेपालीहरु विदेश जानेको सङ्ख्या घट्दो क्रममा छ । मानिसहरु मुलुकमै केही गर्ने अपेक्षासहित विदेश जान छाडेर बैङ्कतिर कर्जा माग्न आउन थालेका छन् । यसले कर्जाप्रतिको आकर्षण बढाएको देखाउँछ । र बैङ्कहरुले अधिक कर्जा यसअघि नै दिएकाले स्रोतको अभाव देखिन थालेको छ । बैङ्कहरुको आठ अर्बभन्दा बढी पुँजी छ । सञ्चित कोष र अन्य उपकरणले यसको आकार अझ ठूलो बनाएको छ । बैङ्कहरु तरलता समस्यामा त छैनन् । तर, ऋणयोग्य लगानी छैन । अर्थात् उनीहरुको कर्जा निक्षेप पुँजी अनुपात ८० प्रतिशत हाराहारी पुगेको छ । यसभन्दा बढी हुने गरी ऋण लगानी गर्न पाइँदैन । यसले उनीहरु थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा भएकैले मौद्रिक समीक्षामार्फत ऋणयोग्य कोष विस्तारमा केन्द्रीय बैङ्कले भूमिका खेलेको हो ।

सुरुमा २० अर्ब रुपैयाँ राखेर सञ्चालनमा ल्याइएको पुनर्कर्जा कोष ३५ अर्ब हुँदै पछिल्लो पटक ५० अर्ब पुर्याउने लक्ष्य राखिएको छ । अहिले २५ अर्बको ‘आउटस्ट्यान्डिङ’ भइसक्यो । तर एकै पटक भनेजति कोष बनाउन गाह्रो छ । अहिले हामीसँग १० अर्ब जति छ, त्यसैलाई कर्जा लगानी गर्दै जान्छौं । र ५० अर्बको कोष बनाउने लक्ष्यमा पैसाको व्यवस्थापन गर्नेतिर लाग्छौं । दोस्रो ऋणपत्र (बोन्ड/डिबेन्चर मार्केट)लाई विस्तार गर्न सहयोग गरेका छौं । बैङ्क वित्तीय संस्थाहरु कल निक्षेपमा बढी भर पर्नुभन्दा लामो प्रकृतिको डिबेन्चर निस्कासनमा लागेका छन् । अल्पकालीन निक्षेप लिने र दीर्घकालीन ऋण दिँदा निक्षेपमा ‘मिसम्याच’ देखिएको छ । यसको दीर्घकालीन समाधान दीर्घकालीन डिबेन्चर नै हो । तेस्रो, विदेशबाट बैङ्कहरुलाई कर्जा लिएर आउने वातावरण बनाइरहेका छौं । पछिल्लो व्यवस्थाले ‘कोर क्यापिटल’को ५० प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्थालाई संशोधन गरेर शतप्रतिशत ल्याउन पाउने व्यवस्था भएको छ ।

प्रायः बैङ्कहरुसँग भएको चुक्ता पुँजी र सञ्चित कोषसमेत गरी पुँजी १२/१३ अर्ब भएको छ । त्यसले त्यति अर्ब बराबरसम्मको कर्जा लिन पाउँछन् । तर तुरुन्त आउने अवस्था छैन । किनभने ती नेपालका बैङ्कहरुलाई विदेशका बैङ्कहरुले पत्याउनु पनि पर्यो । केहीले ल्याएका पनि छन् र केही प्रक्रियामा छन् । सरकारी खर्च नभइरहने र सरकारले विकास खर्च नगरिन्जेलको समय केन्द्रीय स्तरबाट स्थानीय तहमा जान्छ र स्थानीय तहमा गएको पैसा राष्ट्र बैङ्कको खातामा हुन्छ ।

 

तीनपुस्ते हेरेर मात्रै सम्बद्ध व्यक्तिलाई किटानी गर्न सजिलो हुन्छ । त्यसैले मानिसको पहिचानका लागि, गलत मान्छे नपरोस् भन्नका लागि यस्तो गरिएको हो । कतिपय अवस्थामा तीनपुस्ते राख्दा त कर्जा लिने व्यक्ति यकिन गर्न गाह्रो छ भने नराख्दा त्यसले समस्या निम्त्याउन सक्छ । तर अब यस्ता प्रवृत्तिमा परिवर्तन भने गर्नुपर्छ ।

 

बैङ्कमा पैसा भए पनि त्यो रकम बैङ्कले राष्ट्र बैङ्कमा भनेर राख्छ । त्यसकारण बैङ्कहरुकै मागलाई सम्बोधन गर्दै स्थानीय तहमा गएको पैसामध्ये ५० प्रतिशत निक्षेपका रुपमा बैङ्कलाई दिने र ५० प्रतिशत मात्र राष्ट्र बैङ्कको खातामा राख्ने व्यवस्था भएको छ । यसो गर्दा ४ महिनाअघि एकै पटक ३८ अर्ब रुपैयाँ बैङ्किङ प्रणालीमा गयो र यसले तत्कालको तरलता समस्या पनि समाधान गर्न सघाउ पुग्यो । यी झिनामसिना प्रयास मात्र हुन् । किनभने मुलुकमा आर्थिक वृद्धिको लक्ष्य ठूलो छ । आर्थिक वृद्धि गर्नलाई विकास निर्माणको काम पर्याप्त हुनुपर्छ । अहिले त सरकारसँग खर्च गर्नलाई पैसै नहुनुपर्ने हो । तर, उल्टो भइरहेको छ । सरकारले राजस्व राम्रो उठाइरहेको छ । तर, खर्च आशातित भएको छैन । विभिन्न किसिमका ऐनकानुन तर्जुमा, प्रणालीको विकास र सबै निकायबीच समन्वय गर्ने काम भइरहेकाले अब विकास निर्माणले गति लिन्छ र ऋणयोग्य कोषको अभावको समस्या हल हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । मुलुकमा वैदेशिक लगानी र विदेशी सहायता, ऋण वा सेयर पुँजीकै रुपमा ल्याउन जोड दिनुपर्छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेका आधार दरको गणना विधि र कल निक्षेपको सीमा तोक्ने विषयमा बैङ्करहरुले असहमति राखेका छन् । किन यस्तो अवस्था आयो ?

ब्याजदर गणनाका लागि राष्ट्र बैङ्कले यसअघि नै एउटा विधि तय गरेको थियो । खासगरी आधार दर (बेसरेट)मा ०.७५ प्रतिशतको प्रतिफल झिक्ने कुराप्रति बैङ्करहरुको असहमति छ । अर्कोतिर ब्याजदरलाई निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड रेट)बाट नियन्त्रण गर्ने राष्ट्र बैङ्कको नीति हो । मौद्रिक समीक्षामार्फत ब्याजदरलाई थोरै नियन्त्रण गर्ने प्रयत्न गरिएको हो । उद्योगी/व्यवसायीबाट आएका माग सम्बोधन गर्न यसो गरिएको हो । ०.७५ प्रतिशत प्रतिफल झिक्दा त्यतिबराबरको ब्याजदर तुरुन्त घट्छ भन्ने आधारमा काम गरिएको हो । बैङ्कर्सहरु आफ्नो ब्याजदर नघटोस्, नाफा एउटै कायम रहोस् भन्ने चाहन्छन् नै । उद्योगी/व्यापारी पनि ०.७५ प्रतिशत होइन ड्याम्मै पाँच÷सात प्रतिशत घटोस् भन्ने चाहन्छन् । केन्द्रीय बैङ्कले बजारमा आएका सबैका माग हेर्नुपर्छ । तर, सबैले भने जस्तै हुँदैन पनि ।

अहिलेको ब्याजदर केही बढी हो कि भन्ने हामीले महसुस गरेकै हौं । विगतमा १२, साढे १२, १३ प्रतिशतमा बैङ्कहरुले निक्षेप उठाउन थालेपछि राष्ट्र बैङ्कमा सबै बैङ्कका सीईओहरुलाई बोलाएर नैतिक रुपमा सुझाव दियौं । एकल अङ्कमा निक्षेप ब्याज राख्न अप्रत्यक्ष दबाब दियौं । अब साढे आठ प्रतिशतमा ब्याजदर तोकेर एक प्रतिशतसम्म बढेर साढे ९ सम्म र नवीकरण गर्दा ९.६ प्रतिशतसम्म जान सक्ने गरी नयाँ व्यवस्था गरिएको छ । अर्थतन्त्रका सरोकारवालाहरुको विरोधपछि केन्द्रीय बैङ्क चुप लागेर बस्ने वा नजरअन्दाज गर्ने भन्ने कुरा पनि हुँदैन । माग सम्बोधन पनि गर्नुपर्छ । तर कसैको माग सम्बोधन गर्दा त्यसको विकल्पमा अर्को पक्षलाई के असर पर्छ भनेर पनि हेर्नुपर्छ । नयाँ गणनाविधिले बैङ्कहरुको नाफा एकआध प्रतिशत घटाउला । तर व्यापार व्यवसायलाई थोरै राहत पुग्छ नै । तर यो विषयको अहिलेसम्म निर्देशन भएको छैन ।

कल निक्षेप, आधार ब्याजदर, स्प्रेड रेटका विषयमा राष्ट्र बैङ्कले व्यावसायिक प्रतिनिधि र बैङ्कर्सहरु एकै ठाउँ वा छुट्टाछुट्टै राखेर छलफल गरी निष्कर्षमा पुग्छौं । अहिले सबैले जितको महसुस गर्नुपर्छ । कल निक्षेपका सवालमा बैङ्करहरुले एकै पटक वाञ्च्छित सीमामा ल्याउँदा समस्या हुन्छ भनेर सुझाव दिनुभएको छ । तरलता व्यवस्थापन गर्न गाह्रो हुन्छ भन्ने कुरा छ । कल निक्षेपको अनुपात एकदमै फरक छ । पुसको तथ्याङ्कअनुसार कसैको ०.६६ प्रतिशत छ भने कसैको २५.३६ प्रतिशतसम्म छ । साढे २५ प्रतिशत कल निक्षेप हुनेलाई १० प्रतिशतमा झार्नुपर्दा धेरै गाह्रो हुन्छ । त्यसैले आपसी सल्लाहपछि यसलाई टुङ्ग्याउँछौं । र एउटा निश्चित मिति दिएर तोकिएको सीमामा ल्याउन भन्छौं । त्यसपछि पनि मान्नुभएन भने कारबाही गर्ने बाटो त छँदै छ । विगतमा पनि सीसीडी रेसियो पालना गराउँदा पटकपटक हामीलाई बैङ्कहरुले टेरेनन् भन्ने आरोप थियो । गत वर्ष भने अति भएपछि हामीले बैङ्कहरुलाई कारबाही नै ग¥यौं । उद्योग व्यापारलाई प्रोत्साहन गर्दा बैङ्कलाई धराशायी बनाउने भन्ने हुँदैन । यी त झनै केन्द्रीय बैङ्कको नियमन र सुपरिवेक्षण दायराभित्रका संस्था हुन् ।

ब्याजदर प्रकरण र विभिन्न गतिविधिले राष्ट्र बैङ्कको सुपरिवेक्षण क्षमताप्रति अलि बढी नै प्रश्न उठ्न थालेको छ, किन ?

आरोपमा शतप्रतिशत सत्यता छ भन्दैनौं । किनभने नेपालमा बैङ्किङ क्षेत्र, बिमा क्षेत्र, सहकारी क्षेत्र, धितोपत्रका क्षेत्र भनेका वित्तीय क्षेत्रका विभिन्न अङ्गहरु हुन् । यीमध्येमा सबैभन्दा राम्रो, सबैभन्दा पारदर्शी, व्यवस्थित, राम्रोसँग नियमन र सुपरिवेक्षण भएको क्षेत्र भनेको बैङ्किङ नै हो । पछिल्लो चरणमा बैङ्क वित्तीय संस्थाहरुमा विभिन्न किसिमका नयाँ तौरतरिका र प्रविधि आए । हाम्रो जनशक्ति अद्यावधिक, परिमार्जित हुन सकेन भनेर भन्ने हिसाबले आरोप लागेको हुन सक्छ । तर पछिल्लो चरणमा थुप्रै युवा कर्मचारी नियुक्त भएका छन् । प्रशिक्षणकै लागि ठूलो धनराशि खर्च भएको छ । दक्षिण एसियामा १९ ओटा केन्द्रीय बैङ्कहरुको प्रशिक्षण केन्द्र छ, हामी त्यसका साझेदार हौं । त्यसबाट पनि वर्षको ३०/४० ओटा तालिममा निरन्तर सहभागी हुने गरेका छौं ।

मुलुकभित्रै थापाथलीमा आफ्नै प्रशिक्षण केन्द्र छ । त्यहाँ पनि केन्द्रीय बैङ्कका कर्मचारीलाई वर्षको ३०/४० ओटा प्रशिक्षण गरिन्छ । त्यस्तै विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, भारतीय रिजर्व बैङ्क, अमेरिकी रिजर्व बैङ्क, बासललगायतले प्रशिक्षण दिने भएकाले प्रशिक्षित कर्मचारी छन् । हरेक प्रशिक्षणमा तल्ला तहका अधिकृतदेखि विशिष्ट तहसम्मका कर्मचारी सहभागी हुन्छन् । बैङ्कमा बासल थ्री लागू भएको छ । विकास बैङ्क र फाइनान्स पनि लागू गर्न खोजिरहेका छौं । जोखिममा आधारित सुपरिवेक्षण कार्यान्वयनमा ल्याएका छौं । बासल कमिटीले नयाँनयाँ मान्यता लिएर आउँदै छ । अरु विकसित देशले छिट्टै लागू गरे पनि हामीले बिस्तारै एक÷दुई वर्षमा लागू गर्दै गएका छौं । तर पनि कतिपय अवस्था सोचे जस्तो चुस्तदुरुस्त नभएको हुन सक्छौं । हामीलाई परिस्थितिले पनि साथ दिएको छैन । केन्द्रीय बैङ्को भवन भत्केको आज तीन वर्ष भयो पुनर्निर्माणको काम गर्न ढिलो भइरहेको छ ।

 

निजीक्षेत्रमा पारदर्शी भएका संस्थाहरुलाई नै हेरौं, कति नाफा छ । ८ करोड वैदेशिक लगानीसहित १० करोडमा खुलेको एनसेलले २ वर्षमा १२ अर्ब नाफा लैजान्छ । युनिलिभर नेपाल, डाबर नेपाल, बोटलर्स नेपालहरुलाई हेरौं नाफा कति छ ?

बल्ल थापाथलीको पुनर्निर्माणको काम सुरु भयो । बालुवाटारको काम सुरु गर्ने अन्तिम चरणमा छ । बस्ने ठाउँ नै नभएपछि शरणार्थी जस्तै झुप्रा खोज्दै पोका सार्नुपर्ने अवस्थाबाट सुपरिवेक्षण र नियमनको काम भइरहेको छ । केन्द्रीय बैङ्कले आधुनिक प्रशिक्षण केन्द्र बनाएर अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण दिनु आवश्यक छ । यस प्रकारका काम गर्ने गरी ठिमीमा ‘ड्रइङ डिजाइन’ सकेर भवन निर्माणको प्रक्रियामा अगाडि बढिसकेका छौं । त्यसपछि हाम्रो सुपरिवेक्षण प्रणालीलाई थप बलियो बनाउनेछौं ।

मौद्रिक नीतिमा तपाईंहरुले बैङ्कहरुसँग एकबर्से कार्यक्रम लिने र त्यहीअनुसार सुपरिवेक्षण गर्ने भन्ने थियो । तर त्यो कार्यक्रम प्रभावकारी नहुँदा केन्द्रीय बैङ्कले आफ्नो सुपरिवेक्षकीय क्षमता देखाएन भनिएको पो हो कि ?

अलिकति योजना नहुँदा बाटो बाहिर जाने रहेछ । बाहिर गएर कर्जा लगानी भएको देखिएका कारण एक वर्षको स्थिति के हुने, प्रत्येक त्रैमासिकको अवस्था के हुने, प्रत्येक त्रैमासिकमा बैङ्कहरुले कति निक्षेप सङ्कलन गर्ने, कति खर्च/लगानी गर्ने, केके कामहरु गर्ने भन्ने किसिमको खाका, योजनाहरु लिने भन्ने थियो । केन्द्रीय बैङ्कले कुनै काम गर्ने भन्यो भने त्यो बैङ्कहरुले तत्काल बोझका रुपमा लिने गर्छन् । बैङ्कहरुको वार्षिक प्रतिवेदन नयाँ कुरा हो । केहीले बुझाए, केहीले बनाउँदै छन् । केहीले आनाकानी गर्दै छन्, हामी तिनीहरुलाई चिमोट्दै छौं, हामी उठाउँदै छौं ।

यो जतिसुकै गरे पनि सय प्रतिशत हुन सक्ने कुरा होइन । कहीँ न कहीँ कमजोरी÷बदमासी भइहाल्छ । कतै राम्रो गर्दागर्दै कर्जा उठ्दैन । किनभने कर्जा लिएर व्यापार गर्नेको पनि व्यापार राम्ररी चलिदिँदैन । समयमा तिर्न सक्दैनन्, त्यस्ता समस्या आउँछन् नै । तर हामीले के हेर्नुपर्छ भने कुनै समय यही देशमा वाणिज्य बैङ्कको ५६ प्रतिशत, कृषि विकास बैङ्कको ५७ प्रतिशत खराब कर्जा थियो भने आज समग्र बैङ्किङ क्षेत्रमा औसतमा १.६९ प्रतिशत खराब कर्जा छ । केहीको पाँच प्रतिशत छ । तर अधिकांशको औसत नै छ । पाँचभन्दा धेरै खराब कर्जा हुनेको हामीले सेवासुविधा नै रोक्का गरेका छौं ।

निजीक्षेत्रले नाफा नकमाएर बैङ्कहरुले मात्रै नाफा कमाएका हुन् कि बुझाइमा समस्या भएको हो ?

बैङ्कहरुको पुँजी ८ अर्ब छ । सञ्चित कोषसमेत जोड्दा १२/१३ अब पुग्छ । १२/१३ अर्ब लगानी गरेर आएको प्रतिफल हेरौं न । केही पुराना बैङ्कको नाफालाई हेरेर समग्रतामा हेर्नु भएन । वाणिज्य बैङ्कहरुले २ प्रतिशत लाभांश बाँडेका छन् । कतिपय बैङ्कले बर्सौंदेखि लगानीकर्तालाई लाभांश दिएका छैनन् । कतिपय वित्तीय संस्था डुबेका छन् । अर्कोतिर बैङ्कहरुले ३० प्रतिशत सरकारलाई कर तिर्छन् । पारदर्शी छन् । नाफाको ३ प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्छन् । एक प्रतिशत सीएसआरमा खर्च गर्छन् । निजीक्षेत्रमा पारदर्शी भएका संस्थाहरुलाई नै हेरौं, कति नाफा छ । ८ करोड वैदेशिक लगानीसहित १० करोडमा खुलेको एनसेलले २ वर्षमा १२ अर्ब नाफा लैजान्छ । युनिलिभर नेपाल, डाबर नेपाल, बोटलर्स नेपालहरुलाई हेरौं नाफा कति छ ? युनिलिभर एक हजार प्रतिशतसम्म लाभांश दिन्छ । निजीक्षेत्रका पारदर्शी धेरै संस्थाहरुको नाफा अत्यधिक छ । त्यसैले बैङ्कहरुले ठूलो पुँजी लगानी गरेर पनि तुलनात्मक रुपमा कम प्रतिफल पाइरहेका छन् ।

ऋणीले ऋण नतिरेमा तीनपुस्तेसहितको विवरण निकाल्ने र ऋण लिन कुनै भूमिका नहुने व्यक्तिको पनि सार्वजनिक बेइज्जती गर्ने गरेको आरोप लाग्ने गरेको छ । यसमा तपाईंहरुको पनि हात छ नि ?

कुरा यसो हो, मेरो सन्तानले ऋण लियो, तिरेन । तर ऋण नतिरे पनि उसको नाम प्रकाशित गर्दा मेरो पनि नाम आयो । ऊ मेरो सन्तान त हो नि । सन्तानले गल्ती गरेछ र मलाई पनि त्यसमा दोषी बनाएछ भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ । यो अहिलेसम्मको पद्धतिका कारण भएको हो । हामी विकसित मुलुकको जस्तो अवस्थामा छैनौं । ‘सोसियल सेक्युरिटी कार्ड’जस्तो अवधारणा नेपालमा लागू गर्न सकेका छैनौं, त्यसैले तीनपुस्तेको आवश्यकता परेको हो । नेपालमा हजारौं व्यक्तिको नाम एउटै हुन सक्छ । त्यसैले तीनपुस्ते हेरेर मात्रै सम्बद्ध व्यक्तिलाई किटानी गर्न सजिलो हुन्छ । त्यसैले मानिसको पहिचानका लागि, गलत मान्छे नपरोस् भन्नका लागि यस्तो गरिएको हो । कतिपय अवस्थामा तीनपुस्ते राख्दा त कर्जा लिने व्यक्ति यकिन गर्न गाह्रो छ भने नराख्दा त्यसले समस्या निम्त्याउन सक्छ । तर अब यस्ता प्रवृत्तिमा परिवर्तन भने गर्नुपर्छ । नागरिकता नम्बर अथवा राष्ट्रिय परिचयपत्र प्रचलनमा ल्याएर त्यसमार्फत काम अघि बढाउनुपर्छ ।

तपाईंको बुझाइमा बैङ्कहरुले सबै अध्ययन गरेपछि ऋण दिन्छन्, ऋणीहरुले पनि ऋण तिरिरहेकै हुन्छन् । तर कतिपय ऋणीहरुले ऋण नतिरेको अवस्थामा उनीहरुको सम्पत्ति नै हडप्ने काम बैङ्कहरुले गर्ने गरेको देखिन्छ । बैङ्करले हडप्नै खोजेको गतिविधि पनि देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

बैङ्कको नीति, नियम, सिद्धान्तले कसैको पनि जग्गा, सम्पत्ति हडप्न भन्दैन । आफ्नो उद्देश्य पूर्ति गर्न बैङ्क चाहन्छ । निक्षेप हुनेबाट निक्षेप ल्याउने र कर्जा तिर्ने, कतै लगानी गरेर नाफा कमाउने, जजसले कर्जा लगेका हुन्, उनीहरुले समयमै कर्जा तिरेर बैङ्कलाई पनि सजिलो होस्, व्यवसायी पनि नाफामा जाऊन् भन्ने बैङ्कको उद्देश्य हुन्छ । व्यवसायी नाफामा गए मात्र बैङ्कको उद्देश्य पुरा हुन्छ । लुटिहालौं भन्ने बैङ्कको उद्देश्य होइन । तर कहिलेकाहीँ बाध्यता हुन्छ, ऋणीले कर्जा चुक्ता नगरेपछि बैङ्कको पनि खराब कर्जा बढ्छ । जसले आफैंलाई सङ्कटमा लैजान सक्छ । त्यसैले ऋण उठाउनका लागि विभिन्न प्रयत्न गर्छ । ऋणीलाई सचेत गराउने, फोन गर्ने, चिठी लेख्ने, सम्पत्ति लिलाम हुने भन्ने किसिमका चेतावनी दिने आदि गर्छ ।

 

विगतमा पनि सीसीडी रेसियो पालना गराउँदा पटकपटक हामीलाई बैङ्कहरुले टेरेनन् भन्ने आरोप थियो । गत वर्ष भने अति भएपछि हामीले बैङ्कहरुलाई कारबाही नै गर्यौं ।

 

यति गर्दा पनि ऋण उठाउन नसकेको अवस्थामा मात्र उसले सम्पत्ति लिएर भए पनि आफ्नो कर्जा उठाउने गर्छ । यसो किन पनि गरिन्छ भने बैङ्कले त सर्वसाधारणबाट निक्षेप पनि लिएको हुन्छ । उनीहरुलाई ब्याजलगायत सुविधा दिनैपर्छ । त्यसका लागि बैङ्क नाफामा जानुपर्छ । तर उसले कर्जा लगानी नै उठाउन सकेन भने कसरी आम्दानी गर्छ ? कसरी नाफा कमाउने ? त्यसैले उसले कर्जा उठाउनका लागि विभिन्न उपाय अपनाउने गरेको हो । अन्तिममा मात्र बैङ्कले धितो लिलाम गर्ने हो । धितो लिलामबाट जति पैसा आउँछ, ऋण चुक्ता गरेर बाँकी रहेको पैसा ऋणीलाई फिर्ता गरिदिनू भन्ने राष्ट्र बैङ्कको निर्देशन नै छ । यो नियम पनि हो । धितो लिलाम गर्ने पनि केही प्रक्रिया छन् । धितोलाई बैङ्कले सकारेको छ भने ऋणीले आएर पछि यो धितो लिलाम गर्छु भन्ने सुविधा ऋणीले पाउँछ । विधिसम्मत ढङ्गले धितो लिलाम हुनुपर्छ । धितो लिलाम गर्दा पनि सम्बन्धित ऋणीको मात्र गर्नुपर्छ । त्यसपछि मात्र अरु जमानी बस्नेहरुको गर्नुपर्छ भन्ने नियम छ । त्यसमा पनि ऋणीको सम्पत्तिबाट ऋण असुल उपर हुँदैन भने मात्र जमानी बस्नेहरुको धितो लिलाम गर्नुपर्छ । यी सबै विषय न्याय होस् अन्याय नहोस् भन्ने किसिमले आएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालदेखि बाहिर पनि बैङ्कहरुलाई ‘लुटेरा’ भन्ने गर्न थालिएको छ । यहाँ नियामक निकायमा रहनुभएको नाताले यस्तो स्थिति आउनुमा तपाईंहरुको पनि जिम्मेवारीभित्र पर्छ नि ?

यो सकारात्मक सोचको अभावका कारण भएको हो । म त भन्छु यो मुलुकको आजको जुन अवस्था छ, यसमा बैङ्क वित्तीय संस्थाको ठूलो भूमिका छ । ४० सालदेखि निजी लगानीका बैङ्क आएपछि बिस्तारै देशले समृद्धिको बाटो पछ्याएको हो । मानिसलाई त्यति बेला खाता भन्ने थाहा थिएन । चारपाँच घण्टा हिँडेर बैङ्कहरु पुग्नुपर्ने अवस्था थियो । बैङ्कले खाता मात्र खोल्दैन, ऋणीलाई कर्जा दिन्छ, रकम हुनेहरुलाई पैसा निक्षेप गरेर ब्याज दिन्छ । मानिसलाई उद्यमशील बनाउन सघाउँछ । मानिसको प्रतिव्यक्ति आय बढाउनुमा पनि यसको भूमिका छ । बैङ्क भनेको मानिसलाई बुझाउनुपर्ने अवस्था छैन । बैङ्क नभएको स्थानमा पनि ग एवम् घ वर्गका वित्तीय संस्था पुगेका छन् । सहरमा घरघरमै जस्तो बैङ्कका शाखा छन् । तीन हजार आठ जनाबराबर एउटा बैङ्क शाखा पुगेको छ अहिले । सात सय ११ स्थानीय तहमा बैङ्क पुगिसकेको छ । अन्य नपुगेका स्थानीय तहमा पनि धमाधम पुर्याउने पहल भईरहेको छ । त्यसैले बैङ्क लुटेरा होइनन् ।

यदाकदा ऋणीहरु अन्यायमा नपरेका भने होइनन् । बैङ्कहरु एग्रेसिभ भइदिँदा ऋणीहरुले समस्या भोग्नुपरेको कुरा केही अर्थमा सही पनि हो । तर सबैमा यो लागू हुँदैन । सर्वसाधारणको गुनासो सुनुवाइका लागि राष्ट्र बैङ्कले पनि पहल गरेको छ । त्यसको लागि समिति नै गठन भएको छ । त्यहाँ बैङ्कका समस्या के हुन्, ऋणीका समस्या के हुन्, ऋणीलाई कहाँ समस्या प¥यो भनेर समितिमा हेर्ने गरिन्छ । कतिपय अवस्थामा ऋणीहरुलाई बैङ्कबाट समस्या परेको अवस्थामा राष्ट्र बैङ्कमा आएपछि न्याय पाएको उदाहरण पनि प्रशस्त छन् । तर हामी सधैं ऋणीकै पक्षमा हुन्छौं भन्ने होइन । बैङ्कहरुले नियमसङ्गत रुपमा गरेको निर्णयलाई हामीले सदर गर्नैपर्छ र गर्छाैं पनि । बैङ्कहरुबाट कर्जा लिन/नलिन सर्वसाधारणलाई सुविधा छ । लिन पनि सक्छन्, नलिन पनि सक्छन् ।

 

हामी विकसित मुलुकको जस्तो अवस्थामा छैनौं । ‘सोसियल सेक्युरिटी कार्ड’जस्तो अवधारणा नेपालमा लागू गर्न सकेका छैनौं, त्यसैले तीनपुस्तेको आवश्यकता परेको हो ।

त्यसैले बैङ्कलाई लुटेरा भन्नुहुन्न । कुन बैङ्क जाने, कुन शाखा जाने भन्ने छूटको अधिकार पनि सर्वसाधारणलाई छ । बैङ्कले ऋण दियो, तर अर्थतन्त्रका कारण बीचमा ब्याज बढ्यो भने म तँसँग कर्जा लिन्नँ भनेर अर्काे बैङ्क जाने छूट पनि ऋणीलाई छ । यदि कुनै बैङ्कको शर्तभन्दा बढी ब्याज भएको खण्डमा ऋणीले बैङ्क छाड्छु भनेर अर्काे बैङ्क जान्छु भनेको अवस्थामा पुर्वभुक्तानी शुल्क लिन पाइँदैन भनेर केन्द्रीय बैङ्कले सबै बैङ्कलाई निर्देशन गरिसकेको छ । त्यसैले बैङ्कलाई आरोप मात्र लगाउनुहुँदैन । हामीले थुप्रै ऋणी, निक्षेपकर्तालाई अनावश्यक किसिमले चार्ज गरिएका र सेवा शुल्कका नाममा भइरहेका अनियमिततालाई समाधान गरिरहेका छौं । हाम्रो जानकारीमा आएपछि त्यसलाई प्रमाणित गरेर निर्देशनभन्दा बढी सेवाशुल्क आदि लिएको पाइए तत्काल ऋणीलाई खातामा जम्मा भएको भौचर, स्टेटमेन्ट र सुधार भएको कैफियतसहितको जानकारी राष्ट्र बैङ्कमा पठाउन पनि भन्छौं । अन्यथा बैङ्क तथा वित्तीय संस्थाहरुलाई कारबाही गरेका धेरै उदाहरण छन् ।

केन्द्रीय बैङ्क बसेर र बैङ्क तथा संस्थाको फाइल पढेर हेर्दा एउटा ऋणी कसरी टाट पल्टिने अवस्थामा पुग्दो रहेछ ?

पहिलो, ऋणीसँग ‘स्किल’ नै छैन । देखासिकीको भरमा मात्र उसले काम गर्छ । काम गर्ने क्षमता विकास नगरीकन अरुको देखेर होडबाजीमा ऋण लिएर काम गर्न खोज्नेहरु टाट पल्टिने खतरा बढी हुन्छ । दोस्रो, जस्तो कि मैले कुखुरापालन या गाईपालन गर्छु भनेर ऋण लिन्छु । तर छोराछोरीको बिहे गर्ने काममा पैसा खर्च गरें भने त टाट पल्टिन सक्छु । अर्काे, ऋण १० लाख लिने तर, २ लाख मात्र व्यवसायमा लगाउने र अरु ८ लाख रुपैयाँ अन्यत्र खर्च गर्ने गर्दा पनि दुई लाखको आम्दानीले ऋण तिर्न नसक्ने अवस्था आउँछ र टाट पल्टिन्छ । यसैगरी कतिपय अवस्थामा ऋणीहरुको व्यवसायमा कला छैन, हिसाबकिताब कसरी राख्ने भन्ने जानकारी छैन । पारिवारिक खर्च पनि बैङ्कबाट लिएको ऋणबाट चलाउन खोज्दा पनि ऋणी टाट पल्टिने अवस्था आउन सक्छ । व्यवसायको हिसाब पारदर्शी एवम् व्यवस्थित गर्न नसक्दा पनि समस्या हुन्छ । भूकम्प, नाकाबन्दी जस्ता भवितव्यले पनि ऋणी टाट पल्टिन सक्छन् । कतिपय अवस्थामा भाग्यले पनि साथ नदिन सक्छ । जे गर्छु भनेर सोच्यो, त्यसअनुसार व्यवसाय चलेन भने पनि समस्या हुन्छ । नीतिगत समस्याले पनि मानिस टाट पल्टिन सक्छन् । समयअनुसारको विकल्प रोज्न नसक्दा अर्थात् परिस्थितिअनुकूल व्यवसाय गर्न नसक्दा पनि टाट पल्टिएका उदाहरण छन् । उत्पादनमुखी उद्योग छ, त्यसको उचित बजारीकरण नहुँदा र व्यवसाय गर्न नजान्दा पनि मानिस ऋणमा डुब्ने गरेका छन् ।

बैङ्क वित्तीय संस्थाले एउटा सेवाशुल्क देखाउने तर अर्काेतिरबाट बढी सेवाशुल्क लिने चलन बढी छ । यसलाई कसरी हेर्नुभएको छ ?

हाम्रा सुपरीवेक्षकले ल्याएका समस्याको तत्काल सम्बोधन गर्ने गरेका छन् । उनीहरुले ल्याएका रिपोर्टहरु हेरेर कतिपय अवस्थामा जरिवाना गरेका छौं । यस्ता विषयमा पहिलेभन्दा धेरै कमी आएको छ । केही समयअघि एउटा फाइनान्स कम्पनीको निरीक्षण गर्दा सेवाशुल्क बेपत्ता लिएको पायौं । त्यस विषयमा तत्काल हामीले बढी लिएको सेवाशुल्क सम्बद्ध व्यक्तिको खातामा जम्मा गरिदिनू र त्यसको प्रमाण राष्ट्र बैङ्कमा पेस गर्नू भनेर निर्देशन दिइसकेका छौं । स्वनियमनमा बस्ने भएको भए त नियामक निकाय नै किन चाहिन्थ्यो र ?

बैङ्कहरुले विदेशमा सम्पर्क कार्यालय खोलिरहेका छन् । त्यसैका माध्यमबाट कतिपयले विदेशमा पैसा लैजान खोजे भन्ने गरिन्छ, कुरा के हो ?

त्यसो गर्न सजिलो छैन । विदेशमा बैङ्कका शाखा खोल्नुपर्यो भन्नेबित्तिकै पैसा लैजान दिने भन्ने व्यवस्था छैन । फर्निसिङ एवम् कर्मचारी व्यवस्थापनका लागि केही पैसा बाहिर लैजान दिने गरिएको हो । केही समयअघि मात्र म मलेसिया गएर आएँ । त्यहाँ आईएमई लगायत थुप्रै संस्था हेरें । विगतको आईएमई विदेशी रिया कम्पनीले लिएपछि उसैको छेउमा ग्लोबल आईएमई बैङ्कका कर्मचारीले रिया कम्पनीमा आउने व्यक्तिलाई ग्लोबल आईएमई बैङ्कको नेपालमा खाता खोल्न सघाउने गरेका रहेछन् ।

 

कुनै बैङ्कको शर्तभन्दा बढी ब्याज भएको खण्डमा ऋणीले बैङ्क छाड्छु भनेर अर्काे बैङ्क जान्छु भनेको अवस्थामा पुर्वभुक्तानी शुल्क लिन पाइँदैन भनेर केन्द्रीय बैङ्कले सबै बैङ्कलाई निर्देशन गरिसकेको छ ।

 

एकएक हप्तामा एकएक मुठो खाताको फारम नेपालमा पठाउने गरिँदो रहेछ । र कर्मचारीले विदेशमा कमाएको पैसा उक्त खातामा विदेशमै राख्न पाउने भयो । त्यो जम्मा हुँदै जान्छ । र नेपाल आएपछि उसले एकमुष्ट रकम निकालेर कुनै क्षेत्रमा लगानी गर्न पाउँछ । त्यति मात्र नभएर केही रकम नेपालमा आफन्तलाई दिने व्यवस्था पनि गरिएको रहेछ । तर कसैले त्यसरी शाखा खोलेर ‘मनी लन्डरिङ’ गरेको पाइयो भने त्यसलाई कारबाही गर्छाैं ।

निष्क्रिय (डोरमेन्ट) खाताका विषयमा पनि समयसमयमा चर्चा हुने गरेको छ । ३० देखि ४० प्रतिशत डोरमेन्ट खाता छ भनिन्छ । के यसको व्यवस्थापन कठिन हुँदै गएको हो ?

डोरमेन्ट खाता धेरै छन् । प्रत्येक पाँच वर्षमा यससम्बन्धी सूचना निकाल्न सम्बद्ध बैङ्कलाई निर्देशन गरिरेहका छौं । २० वर्षसम्म पनि सम्बद्ध व्यक्ति लिन आएन भने त्यो रकम राजस्वमा दाखिला गर्ने गर्छौं । त्यसपछि पनि आएर आफ्नो प्रमाण पेस गरेर निवेदन दिएको अवस्थामा पैसा फिर्ता गरिदिने व्यवस्था छ । कतिपय मानिस बेवारिसे हुँदा रहेछन्, कहाँ खाता खोल्यो थाहा नहुने अवस्था पनि छ । नेपालमा खाता खोलेर विदेश गएर उतै बसेपछि पनि नेपालमा बैङ्क खाता डोरमेन्ट भएको उदाहरण पनि छ । अझ यस्तो समस्या सेयर भर्नेहरुमा देखिन्छ । कतिपय अवस्थामा सेयर त भरे तर त्यसले कहिले हकप्रद सेयर दियो, कहिले बोनस दियो, त्यसबारे बेखबर बन्नेहरु पनि छन् ।

ऋणका विषयमा भने सार्वजनिक सूचना निकालिन्छ । तर डोरमेन्ट खातामा यस्तो कुनै व्यवस्था छैन ?

यस विषयमा पाँचपाँच वर्षमा बैङ्कहरुले सूचना निकाल्नुपर्छ । यस विषयमा सम्बन्धित धनी नै सचेत हुनुपर्छ ।

क्यापिटल बिजनेस म्यागजिनबाट