सगरमाथाको फोहोर सेनाले निःशुल्क उठाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, नेपाली सेना तथा पासाङल्हामु गाउँपालिकाको आयोजनामा पहिलो पटक सफाइ गर्न लागिएको हो । सगरमाथामा दिनहुँ फोहोर भएको भन्दै आरोहीहरुले तीव्ररुपमा आलोचना गरिरहेका थिए ।

काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथाको फोहोर हेलिकप्टरमार्फत निःशुल्क उठाउने भएको छ । वैशाख १४ देखि जेठ १५ गतेसम्म सगरमाथामा रहेको फोहोर सफा गरी सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्याउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, नेपाली सेना तथा पासाङल्हामु गाउँपालिकाको आयोजनामा पहिलो पटक सफाइ गर्न लागिएको हो । सगरमाथामा दिनहुँ फोहोर भएको भन्दै आरोहीहरुले तीव्ररुपमा आलोचना गरिरहेका थिए ।

सफाइको तयारीबारे पत्रकारसम्मेलनमा बोल्दै शमशेर गुल्मका गणपति दीपेन्द्र न्यौपानेले सेनाकै हेलिकप्टरबाट फोहोर उठाउने बताए । उनले सफाइमा नेपाली सेनालाई पनि परिचालन गर्ने बताउँदै वैशाख १ गतेबाटै नाम्चेलगायतका क्षेत्रबाट सफाइको सुरुआत गर्ने जानकारी दिए ।

यस्तै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले हिमाल सरसफाइका लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च गरिने जानकारी दिए । हिमाल आरोहणको सिजन सुरु भएका कारण नयाँ डोरी फिक्सिङ गर्नुअघि नै पुराना डोरी निकाल्ने योजना रहेको उनको भनाइ छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जे शेर्पाले हिमाल सफाइको क्रममा भेटिएका शवलाई गृहमन्त्रालयसँगको सहकार्यमा सम्भव भएसम्म परिवारलाई बुझाउने र सम्भव नभए आफूहरुले नै जलाउने जानकारी दिए । उनले पछिल्लो समय विभिन्न निकायले हिमाल सफाइको नाममा व्यापार गरिरहेको आरोप लगाउँदै सरकारी स्तरबाट पहिलो पटक सफाइ हुन लागेकाले खुसी व्यक्त गरेका छन् ।

सगरमाथाबाट अनुमानित ५ हजार किलो फोहोर र सगरमाथाको अन्य क्षेत्रबाट पनि अनुमानित ५ हजार किलो फोहोर सङकलन हुने आयोजकले आशा लिएको छ । सफाइ अभियानमा १२ जना शेर्पा खटिने र उनीहरुले ४५ दिनभित्र सफाइ सम्पन्न गर्ने जनाएको छ ।

याे पनि पढ्नुहाेस् ।

सगरमाथाको सरसफाइमा जुट्यो सरकार, २ करोड खर्चिने