६ जना कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस (प्रतिवेदनसहित)

उडान रद्द हुनुमा क्यानको टावरमा उक्त समयमा ड्युटीमा रहेका २ जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय गरेको नदेखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्स (एनएसी)को जहाजलाई चार मिनेट समय नदिएर २ सय ७६ जना यात्रु अलपत्र परेको विषयमा गठन भएको छानबिन समितिले ६ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

उडान रद्द हुनुमा क्यानको टावरमा उक्त समयमा ड्युटीमा रहेका २ जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय गरेको नदेखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै उक्त उडान रद्द भइसकेपछि यात्रुहरुको उचित व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचाल्ने एनएसीको विमानस्थलस्थीत दुई जना पदाधिकारीलाई विभागीय कारबाही गर्न तथा ह्याङ्गरबाट पार्किङ वेमा जहाज ल्याउने सन्दर्भमा समन्वयमा कमजोरी देखिएकाले एनएसीका २ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ ।

त्यस्तै फ्लाई दुबईको विमानलाई १७ मिनेट थप समय दिएको सम्बन्धमा मन्त्रालयले क्यानलाई छानबिन गरी जिम्मेवार पदाधिकारीलाई कडा कारबाहीका लागि निर्देशन दिएको छ ।

चैत्र १९ गते राति १० बजेपछि ४ मिनेटको समय माग गर्दा आफूहरुलाई नपठाएर विदेशी एयरलाइन्सको जहाजलाई उडान अनुमति दिएको एनएसीले आरोप लगाउँदै आएको थियो । दुबई उड्नु पर्ने जहाज ४ मिनेट समय नपाएर विमानस्थलमै बसेपछि यात्रुहरु अलपत्र परेका थिए भने एनएसीलाई लाखौंको घाटा भएको थियो ।

यस विषयमा चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गत २० गते छानबिन समिति बनाएको थियो ।

छानबिन समितिका सदस्यहरुमा गृह मन्त्रालयका तर्फबाट प्रहरी वरिष्ठउपरीक्षकसहित निगमका निर्देशक राजेश मिश्र र प्राधिकरणका प्रबन्धक विक्रम गौतम सदस्य सचिव थिए ।