आयकर ऐनले नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था भएपनि सो अनुसार कर असुली नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । सेयर खरिदबिक्री वापत असुल हुनुपर्ने पुँजीगत लाभकर छली भएको पाइएको छ । हकप्रद, बोनसका साथै संस्थागत सेयर खरिदबिक्रीमा लाग्ने ८२ करोड ७१ लाख रुपैयाँ कर नउठेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ । आयकर ऐनले नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था भएपनि सो अनुसार कर असुली नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद सेयरको अनुपातले समायोजन गरी औसत गणना गर्दा आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यलाई खर्च छुट दिने अर्थ मन्त्रीस्तरबाट ०६५ मंसिर २२ मा निर्णय भएको थियो ।
सेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको छ । यसरी अङ्कित मूल्यभन्दा बोनस तथा हकप्रद सेयरको वास्तविक लागत बढी समायोजन भई पुँजीगत लाभकर घटी दाखिला भएको छ ।
गत वर्ष १४ अर्ब ८० करोड २१ लाख रुपैयाँको हकप्रद र बोनस सेयर बिक्री गर्दा लागत २ अर्ब ३० करोड ४४ लाख कट्टा गरी १२ अर्ब ४९ करोड ७६ लाख रुपैयाँमा ५ प्रतिशतले ६२ करोड ४८ लाख ८१ हजार असुल हुनुपर्नेमा ४ करोड ९० लाख १० हजार रुपैयाँ मात्र असुल भएको महालेखाले जनाएको छ । ५७ करोड ५८ लाख ७१ हजार छुट भएको देखिएको छ ।
सम्पत्ति वा दायित्वको निसर्ग गर्दा प्राप्त आम्दानीको भन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्च घटी भएकोमा फरक रकम आय मानी गणना गर्ने व्यवस्था छ । संस्थापक सेयरको खरिद बिक्री कारोबार हुँदा पुँजीगत लाभकर गणनाका लागि अर्थको ०६४ चैत ५ को मन्त्रीस्तरीय निर्णयमा खुद सम्पत्ति सकारात्मक भएको कम्पनीको हकमा गत वर्षको किताबी मूल्यको ५ गुणा वा साधारण सेयरको बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मूल्य वा सोभन्दा बढी मूल्यमा कारोबार मूल्य कायम गर्न सकिने व्यवस्था गरिएको छ ।
खुद सम्पत्ति ऋणात्मक भएको कम्पनीको हकमा १८० दिनको औसत बजार मूल्यको ५० प्रतिशत वा कारोबार भएको दिनको बजार मूल्यको ५० प्रतिशतमध्ये जुन कम हुन्छ सोभन्दा बढी मूल्यमा गणना गर्ने उल्लेख छ । साधारण सेयरको ५० प्रतिशत हुने गरी संस्थापक सेयरको मूल्य कायम गर्ने आधार देखिँदैन ।
विभिन्न ७२ कम्पनीले ०७४०७५ मा २ करोड ५५ लाख २० हजार ३२२ कित्ता संस्थापक सेयर १० अर्ब ६४ करोड १४ लाख रुपैयाँमा बिक्री गरे थिए । कारोबार भएको दिनको साधारण सेयरको न्यूनतम मूल्यमा बिक्री गर्दा पनि १५ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ हुने देखिन्छ । तसर्थ बिक्रीमा फरक परेको ५ अर्ब २ करोड ७२ लाखमा समेत पुँजीगत लाभकर गणना एवम असुल गर्नुपर्नेमा उक्त निर्णय अनुसार लाभकरको गणना गरेको कारण ५ प्रतिशतका दरले पुँजीगत लाभकर २५ करोड १३ लाख घटी असुल भएकोले सो निर्णयमा पुनरावलोकन हुनुपर्ने महालेखाले सुझाएको छ ।
कुनै व्यक्तिको आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनका लागि यस ऐनको अधिनमा रही कारोबारसँग सम्बन्धित खर्चहरु कट्टी गर्न पाउने व्यवस्था छ । विभिन्न २३ बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनीले ०७२०७३ र ०७३०७४ मा पुँजी बढाउन साधारण सेयर, हकप्रद सेयर, अतिरिक्त सेयर जारी गर्दा भएको ३९ करोड ५९ लाख रुपैयाँ खर्च सम्बन्धित शीर्षकको जगेडाबाट खर्च लेख्नुपर्नेमा नाफा नोक्सान हिसाबबाट खर्च लेखी थप छानबिन गरी ३० प्रतिशतले हुने कर ११ करोड ८७ लाख रुपैयाँ शुल्क एवम ब्याजसहित असुली हुनुपर्ने महालेखाको ठहर छ ।