पोखराका महिला व्यवसायी पुगे ढोरपाटन

भ्रमण टोलीले गल्कोट दरबार, गाईघाट झरना, तुरतुरे ताल हुँदै नेपालको एक मात्र वन्यजन्तु सिकार आरक्ष केन्द्र ढोरपाटन सिकार आरक्ष, उत्तरगङ्गा मन्दिरको अवलोकन गरेकाे थियाे । भ्रमणका क्रममा लालीगुराँस, हिउँसँग रमाउँदै गल्कोट पाण्डवखानीको सिद्धस्थान सामुदायिक होम्स्टेमा पुगेर स्थानीय सांस्कृतिक एवम् धार्मिक पक्षबारे जानकारी लिएको गिरीले बताइन् ।

पोखरा । ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखराका विभिन्न क्षेत्रमा संलग्न महिलाको टोलीले बाग्लुङ जिल्लाको ढोरपाटनलगायतका स्थानको अवलोकन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको मेट्रो इन टुर एन्ड ट्राभल्सका सञ्चालक एवम् कार्यक्रम संयोजक कमला गिरीले जानकारी दिइन् ।

भ्रमण टोलीले गल्कोट दरबार, गाईघाट झरना, तुरतुरे ताल हुँदै नेपालको एक मात्र वन्यजन्तु सिकार आरक्ष केन्द्र ढोरपाटन सिकार आरक्ष, उत्तरगङ्गा मन्दिरको अवलोकन गरेका थिए । भ्रमणका क्रममा लालीगुराँस, हिउँसँग रमाउँदै गल्कोट पाण्डवखानीको सिद्धस्थान सामुदायिक होम्स्टेमा पुगेर स्थानीय सांस्कृतिक एवम् धार्मिक पक्षबारे जानकारी लिएको गिरीले बताइन् ।

‘एक जिल्लाले अर्काेको जिल्लाको पर्यटन क्षेत्रको प्रवर्धन गर्न जरुरी छ,’ तमु समाज यूके आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङले भनिन् । देशभित्रै रमणीय स्थान भएकाले विदेश घुम्नुभन्दा पहिला देश घुम्नुपर्ने उनले बताइन् । यात्राले भौगोलिक अवस्था, रहनसहन र संस्कृति बुझ्न पाएको उनको भनाइ छ ।

उद्यमशील महिला मीना अमात्य प्रधानले बाग्लुङ जिल्लाको प्रसिद्ध स्थान ढोरपाटनलगायतको स्थानमा पुगेर २०७५ सालको बिदा र नयाँ बर्ष २०७६ लाई स्वागत गरिएको बताइन् । ‘भ्रमणले विभिन्न क्षेत्रका महिलासँग परिचित हुने र आत्मीयता साट्ने अवसर मिल्यो,’ उनले भनिन् । यात्रामा सहभागी ६७ वर्षीया गीता पराजुलीले यात्राले विकट गाउँको बस्ती र त्यहाँको जनजीवनलाई बुझ्न पाएकोमा खुसी लागेको बताइन् ।

भ्रमणमा विभिन्न क्षेत्रका २० जना महिलाको सहभागिता थियो ।