पहिलोपटक नेपाल, भारत र चीनका महिलाले संयुक्तरुपमा सगरमाथा आरोहण गर्दै

आरोहण टोलीमा नेपालका तर्फबाट दुई पटक सगरमाथा आरोहण गरिसकेकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मा छन् । कान्छीमाया सगरमाथा सफलतापूर्वक आरोहण गर्ने प्रथम तामाङ महिला हुन् । उनी विभिन्न सामाजिक क्रियाकलाप र सङ्गठनहरुमा आबद्ध छिन् ।

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भन्दै पहिलोपटक नेपाल, भारत र चीनका तीन जना महिलाले संयुक्तरुपमा सर्वोच्च शिखर सगरमाथा हिमालको आरोहण गर्ने भएका छन् । उनीहरु मङ्गलबार लुक्ला पुग्ने कार्यक्रम छ ।

विश्व शान्ति, मित्रता तथा यस क्षेत्रमा महिला सशक्तीकरणको उद्देश्यले हिमाल आरोहण गर्न लागेको उनीहरुको भनाइ छ । आरोहण टोलीमा नेपालका तर्फबाट दुई पटक सगरमाथा आरोहण गरिसकेकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मा छन् । कान्छीमाया सगरमाथा सफलतापूर्वक आरोहण गर्ने प्रथम तामाङ महिला हुन् । उनी विभिन्न सामाजिक क्रियाकलाप र सङ्गठनहरुमा आबद्ध छिन् । यस्तै उनी २०१७ देखि संयुक्त राष्ट्रसङ्घमा महिला गुडविल दूतसमेत छिन् ।

यस्तै भारतकी दास पनि सक्षम आरोही हुन् । उनले नेपाल, भारत, युरोप, दक्षिण अमेरिका र अष्ट्रेलियामा आरोहणको अनुभव बटुलिसकेकी छन् । अन्य महादेशका विभिन्न ६ उच्च शिखरबाहेक उनले २००८ मा टोली नेतृत्वका रुपमा पनि सगरमाथाको आरोहण गरिसकेकी छन् । उनले यस पटक सगरमाथामा सारी लगाएर आरोहण गर्ने तयारी गरेकी छन् ।

चीनकी लियामु माले यसअघि नै सगरमाथा, मनास्लु, लोबुचे तथा मुस्टाकाटाको आरोहण र नेतृत्व गरिसकेकी छन् । उनी क्रेजी माउन्टेन एक्सपिडिसन चीनसँग आबद्ध छिन् ।

तीन महिलाको सो यात्रालाई १८ पटकसम्म सगरमाथा आरोहण गरिसकेका विश्वचर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पाले गाइड गर्दैछन् । शेर्पाले ६ ओटा गिनिज विश्व रेकर्ड कायम गरिसकेका छन् भने उनी नेपाल पर्यटन वर्ष २०११ का लागि गुडविल दूत हुन् ।

नेपाल भ्रमण वर्ष २०२० ले उनीहरुलाई सहयोग गरेको छ । यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफै हस्ताक्षर गरेको भिजिट नेपाल २०२० को झण्डा पनि दिएका छन्, जसलाई उनीहरुले हिमालको चुचुरोमा गएर गाड्ने छन् ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले भ्रमण वर्ष २०२० को झण्डा हस्तान्तरण गरेका छन् ।