सनराइज बैङ्कको सहयोगमा मुहार फेर्दै खोकनाको बाज पाटी

रुद्रायणी मन्दिरमा नित्य पूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने गरिन्थ्यो । तर, २०७२ सालको भूकम्पले बाज पाटी बस्न नमिल्ने गरी भत्किएपछि भजन कीर्तन गर्न बाधा पुगेको स्थानीयले बताए ।

ललितपुर । ललितपुर महानगरपालिकाको खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैङ्कको १० लाख रुपैयाँको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो ।

रुद्रायणी मन्दिरमा नित्य पूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने गरिन्थ्यो । तर, २०७२ सालको भूकम्पले बाज पाटी बस्न नमिल्ने गरी भत्किएपछि भजन कीर्तन गर्न बाधा पुगेको स्थानीयले बताए ।

ललितपुर महानगरपालिका वडा २१ र सनराइजबैङ्कले संयुक्तरुपमा सोमबार आयोजना गरेको कार्यक्रममा उक्त रकमबराबरको हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले पर्यटकलाई यहाँको सम्पदा र सांस्कृतिक महत्त्व बुझाउन गाइडको व्यवस्था गनुपर्ने धारणा राखिन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक महत्त्वको ठाउँ खोकना पर्यटकीय दृष्टिले धेरै सम्भावना बोकेको सहर भएको बताए । उनले पर्यटकलाई आकर्षण गर्न यहाँका सम्पदा र कला संस्कृतिको संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने बताए । खोकनाको पुनर्निर्माणमा सनराइज बैङ्कको सहयोगको प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैङ्कले सुरु गरेको यो कामलाई निरन्तरता दिन अनुरोध गरे ।

वडा अध्यक्ष रवीन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाहरुले खोकना धनी भएको बताउँदै भूकम्पले भत्काएका सम्पदा पहिलेकै अवस्थामा पुनर्निर्माण गर्नु चुनौतीपूर्ण भएको बताए ।

बैङ्कका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्राचार्यले बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाटीको पनुर्निर्माणमा सहयोय गरेको बताए । सम्पदा मुलुकको महत्त्वपूर्ण गहना भएको बताउँदै उनले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

वडा सदस्य ज्ञानभक्त महर्जनले खोकनाका सम्पदा पुनर्निर्माण गरी पर्यटक आकर्षण गर्न सके त्यसबाट खोकनाको आर्थिक समृद्धि छिटै सम्भव हुने दाबी गरे ।