कफीको १५ बर्षे योजनाः वार्षिक ६ अर्बको निर्यात गर्न सकिने, १० अर्ब लगानी आवश्यक

हरेक बर्ष कफी उत्पादन १५ प्रतिशतका दरले बढाउन पनि १० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बस्ताकोटीको जोड थियो । १५ बर्षभित्र ३० हजार हेक्टरमात्रै कफीको क्षेत्र विस्तार गर्न सकेमा मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने उनको तर्क थियो ।

काठमाडौं । आगामी १५ बर्षको दीर्घकालीन योजना अनुसार कफीको क्षेत्र विस्तार गर्दै लगेमा नेपाल कफीमा आत्मनिर्भरसँगै बार्षिक ६ अर्ब रुपैयाँको निर्यात गर्न सक्ने देखिएको छ ।

काठमाडौं आयोजित ‘नेपालमा कफी प्रवद्र्धन सम्मेलन’ का अवसरमा कफीको मुल्य श्रृङ्खला सल्लाहकार बद्री बस्ताकोटीको प्रस्तुत प्रतिवेदनले कफीको सम्भावना धेरै भएकाले दीर्घकालीन सोचका साथ क्षेत्र विस्तार गर्नुपर्ने देखिन्छ ।

बस्ताकोटीका अनुसार , सरकारले कफीको क्षेत्र विस्तार र उत्पादनका लागि छुट्याउने बजेट निम्छरिलो देखिन्छ । दीर्घकालीन रुपमा कफीको क्षेत्रविस्तार गर्दै लगेमा १५ बर्षमा अन्तर्राष्ट्रिय बजारमा ६ देखि ८ हजार मेट्रिकटन निर्यात गर्न सकिने सम्भावना रहेको देखिन्छ । त्यस्का लागि समीक्षा अवधिमा १० अर्ब रुपैयाँ लगानी आवश्यक रहन्छ । अहिले नेपालमा बार्षिक ५१३ मेट्रिक टन कफी उत्पादन छ ।

यो क्षेत्रगत हिसावले निकै कम रहेको बस्ताकोटी बताउँछन् । उनका अनुसार, अहिले २ हजार ९०० हेक्टरमा मात्रै कफी खेती भइरहेको छ । तर, नेपालमा ११ लाख हेक्टर जमिन कफी उत्पादनका लागि उत्तम छ । त्यस्मा पनि ६१ हजार हेक्टर जमिन कफीका लागि अति उत्तम रहेको बोर्डको तथ्याङ्कमा छ ।

हरेक बर्ष कफी उत्पादन १५ प्रतिशतका दरले बढाउन पनि १० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बस्ताकोटीको जोड थियो । १५ बर्षभित्र ३० हजार हेक्टरमात्रै कफीको क्षेत्र विस्तार गर्न सकेमा मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने उनको तर्क थियो ।

कफीको क्षेत्र विस्तार र उत्पादन बढाउन सरकारी क्षेत्रबाट योजनासहितको लगानी आवश्यक पर्ने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले सरकारी लगानीको अभावमा कफी क्षेत्र विस्तार र उत्पादन बढाउन तुलनात्मक रुपले बोर्डले नसकेको बताए । ‘साना किसानले सीमित जग्गामा मात्रै कफी उत्पादन गरेका छन् ।

त्यो परिमाणले स्वदेशी माग र मागअनुसार निर्यात गर्न सकिएको छैन’ उनले भने, ‘त्यस्का लागि सरकारले लगानी र पूर्वाधार निर्माण गरिदिनुपर्छ ।’नेपालमा कफीको व्यवसायिक उत्पादन सन् १९९० बाट सुरु भएको थियो । गुल्मीको आँपचौरबाट व्यवसायिक उत्पादन अघि बढेको कफीको अहिले नेपाल बजार र अन्तर्राष्ट्रिय क्षेत्रमा माग उच्च छ ।

नेपाली कफीको गुणस्तर अन्र्तराष्ट्रिय बजारमा रुचाइएको छ । तर, मागबमोजिम निर्यात गर्न सकिरहेको अवस्था छैन् । उत्पादित कफी घरेलु खपतका लागि समेत अपुग छ ।चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको थिए ।

उनले कफी क्षेत्रको प्रवद्र्धनका लागि पूर्वाधार र वातावरण सरकारले बनाइदिनु पर्ने बताए । उनले आगामी बर्ष कफी क्षेत्रको प्रवद्र्धनका लागि बजेटमा कार्यक्रम समेट्ने आश्वासन दिए ।

त्यस्तै, कृषि राज्यमन्त्री रामकुमारी चौधरीले पनि देशको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास अनिवार्य शर्त भएको बताइन् । उनले कृषि क्रान्तिबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताइन् । आजबाट सुरु भएको सम्मेलन मंगलबार सकिदैछ ।