एमएस ग्रुपको ४ अर्बमा दोस्रो होटल, अमेरिकन चेन म्यारियटले थाल्यो व्यवस्थापन

एमएस ग्रुपले निर्माण गरेको म्यारियट होटलको आइतवारदेखि सफ्ट लन्च गरिएको छ । ४ अर्ब लागतमा ४ बर्ष लगाएर निर्माण गरिएको काठमाडौंको पछिल्लो पाँचतारे होटलमा आइतबारदेखि पाहुनाहरु बस्न थालेका हुन् ।

काठमाडौंको नक्साल नागपोखरीमा निर्माण भएको होटल ठमेल र दरबारमार्गबाट नजिक पर्छ । एमएस गु्रपले नै २ बर्षअघि ठमेलमा फेयरफिल्ड म्यारियट सञ्चालनमा ल्याएको थियो । १३ रोपनी क्षेत्रफलमा फैलिएको म्यारियटमा आधुनिक डिजाइनमा स्थानिय परिवेशको कला र नामलाई समिश्रण गरिएको छ ।

म्यारियटभित्र नक्साल चोकको खुल्ला ठाउँ, रक्सी नामको बार राखिएको छ, किचेनको नाम ठमेल किचेन रहेको छ । त्यस्तै भित्तामा कलात्मक थांका र काठमाडौंको मौलिक परम्परा र परिवेश झल्काउने तस्विरहरु रहेका छन् ।

एमएस गु्रपका अध्यक्ष शशिकान्त अग्रवालले म्यारियट नेपालको सबैभन्दा आधुनिक प्रविधिमा बनेको होटल भएको बताए । ‘सुरक्षा र सेवाका लागि हामीले विश्वका एक दर्जन मुलुकबाट सामान मगाएका छौं, म्यारियटमा बस्ने गेस्टले नेपालको अन्य होटलमा भन्दा फरक सुविधा र सेवा पाउँछन्,’ उनले भने ।

तीन तला बेसमेन्ट रहेको होटलमा सुरक्षाका लागि मात्र होटल निर्माणको बजेटको ३० प्रतिशत खर्च गरिएको छ ।

होटलमा २ सय १४ वटा रुमहरु रहेका छन् । एउटा रुम प्रिसिडेन्सियल स्वीट रुम बनाइएको छ । एउटै ठूलो कोठामा सबै सुविधा उपलब्ध गराइएको छ । विदेशी राष्ट्रप्रमुखदेखि नेपाल आउने ठूला कम्पनीका पाहुनालाई लक्षित गरेर होटलले यस्तो कोठा बनाएको हो । यसको मूल्य एक रातको डेढलाखसम्म पर्ने होटलले जनाएको छ । होटलको कोठा १ सय ५० डलरदेखि सुरु हुन्छ । होटलमा २० वटा स्वीट, १ सय ९३ वटा डिलक्स रुमहरु रहेका छन् ।

होटलमा ५० जनादेखि १ हजारजना सम्म अट्ने ६ वटा हलहरु रहेका छन् । आउटडोर स्विमिङ, पूर्ण सुसज्जित फिटनेस सेन्टर, स्पा, सलुनपनि होटलभित्र नै रहेका छन् । १० तला रहेको होटलमा अत्याधुनिक लिफ्ट सिस्टम जडान गरिएको छ । पार्किङका लागि होटलले नेपालमा नै पहिलो पटक हाइड्रोलिक पार्किङको निर्माण गर्न लागेको छ । बेसमेन्ट पाकिङमा ठाउँ नपुगेमा ३ सय वटा सवारीसाधन अट्ने हाइड्रोलिक पार्किङ प्रयोगमा आउने होटलले जनाएको छ ।