बुटवल पावरद्वारा एफपीओ बिक्रीको म्याद थप

बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपीओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि सेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै सेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई सेयर दिने उल्लेख गरेको छ । कम्पनीले दुई अर्ब रुपैयाँ बराबरको एफपीओ जारी गरेकामा अझै ८० करोड रुपैयाँबराबरको एफपीओ बिक्री भएको छैन ।

एक अर्ब २० करोड रुपैयाँबराबरको मात्रै एफपीओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरेको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपीओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० मा ४०१ रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ जारी गरेको हो । कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री नगरी एफपीओ बिक्री गरेको भन्दै आलोचना भएको थियो । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपीओ कानुनसम्मत् नै रहेको जनाएको थियो ।

हालसम्म निष्कासित सबै धितोपत्र खरिदका लागि आवेदन पर्न नआएकाले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ अनुसार आजदेखि सङ्गठिन संस्था वा प्रचलित कानुनबमोजिम स्थापना भएका संस्थाले समेत सेयर खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार यही माघ २४ गतेसम्म जम्मा एक अर्ब २० करोड रुपैयाँ बराबरको मात्रै एफपीओ बिक्री भएको छ ।
रासस