सगरमाथा आरोहणः यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ। यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना ‘आइसफल डाक्टर’ भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली हिमालमा बाटो बनाउने काममा खटिएको छ।

बीबीसी । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ। त्यसभन्दा माथि आरोहीहरू स्वयंले बनाउँछन्। आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ। यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना ‘आइसफल डाक्टर’ भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली हिमालमा बाटो बनाउने काममा खटिएको छ। सो टोली आवश्यक सामग्री लिएर मार्च २ देखि काममा खटिएको छ।

कसरी सुरु हुन्छ बाटो बनाउने काम ?

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सगरमाथा र अन्य हिमाललाई देवता मान्छन्। त्यसैले हिमालमा जानुअघि पूजापाठ गर्ने चलन छ। बाटो बनाउने टोलीका सदस्यहरू आफ्नो काममा कुनै बाधाव्यवधान नआओस् भनेर बौद्ध विधिबाट पूजापाठ गर्दै सगरमाथाको आधारशिविर पुग्छन्। त्यहाँ उनीहरू उपयुक्त ठाउँ खोजेर शिविर बनाउँछन्। त्यसपछि पुनस् क्षमायाचना र शक्ति माग्दै लामापूजा गर्ने गरिन्छ।

भगवानको शिरमा पाइला राख्नु गल्ती भएको भन्दै लामापाठ गरी प्रत्येक आरोहण टोलीले क्षमायाचना गर्ने गरेको आइसफल डाक्टरहरूका संयोजक कामी शेर्पा बताउँछन्। बाटो कहाँबाट कसरी तयार गर्ने भन्नेबारे टोली संयोजकको सल्लाहबमोजिम टोली काममा खट्छ।

डोरी र भर्याङको प्रयोग गरेर बाटो बनाएपछि टोली आधारशिविर फर्किन्छ र तीन महिनासम्म त्यहीँ बस्छ। आरोहणका लागि अनुमति लिएका टोलीहरूको आरोहण अभियान सकिएपछि मात्र आरोहणका लागि टाँगिएका डोरी, भर्याङ लगायतका सामानहरू निकालेर मात्र टोली फर्किन्छ।

बाटो बनाउन यी सामग्रीको प्रयोग हुन्छ
१. डोरी

सामान्यतया बाटो बनाउने भन्नेबितिक्कै कुटो र कोदालोजस्ता औजारको आवश्यकता पर्छ भन्ने लाग्न सक्छ । तर हिमालमा बाटो बनाउँदा बिल्कुलै फरक खालका सामग्रीको प्रयोग हुने गरेको अधिकारीहरू बताउँछन्। आइसफल डाक्टर कामी शेर्पा भन्छन्, ‘हिमालमा बाटो बनाउँदा चाहिने पहिलो महत्त्वपूर्ण सामग्री भनेको डोरी हो।’ डोरीको सहायतामा हामी बाटो बनाउछौँ। प्राय हिमालमा प्रयोग गरिने डोरीहरू विदेशबाटै ल्याउने गरिएको छ,’ उनले भने।

नेपालमा बनेका डोरीहरू कमसल र गुणस्तरीय नहुने भएकाले विदेशबाटै बलियो, मोटो र नरम खालको डोरी ल्याएर प्रयोग गर्दै आएको संयोजक शेर्पा बताउँछन्। उनका अनुसार हालसम्म अमेरिका र कोरियाबाट ल्याइएका नौ मिलिमिटर मोटइ भएको डोरी प्रयोग गरिँदै आएको छ भने भर्याङ बाँध्न सात लिमिटरसम्मको डोरी प्रयोग गरिएको छ। हालसम्मको तथ्याङ्कअनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउँदा ५५ सय मिटर डोरीको प्रयोग भएको छ।

२. भर्याङ

बाटो बनाउन आवश्यक अर्को महत्त्वपूर्ण सामग्री भनेको भर्याङ हो।उकालोमा डोरी टाँग्दै र तेर्सो ठाउँमा भर्याङ बिछ्याउँदै बाटो बनाउनुपर्ने हुन्छ। बाटो बनाउन कतिवटा भर्याङ प्रयोग हुन्छ भने तथ्याङ्क नभए पनि टोली संयोजक शेर्पाका अनुसार आवश्यकता अनुसार भर्याङ बिच्छ्याउने गरेको छ। समयानुकूल हुनेगरी कहिले धेरै त कहिले थोरै भर्याङ प्रयोग हुने शेर्पा बताउँछन्। सन् २०१८ मा ३२ वटा भर्याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा मात्रै प्रयोग गरिएको शेर्पाले बताए।

हिउँका चापड (खर्पस र ब्ल्यू आइस) का कारण भर्याङको ङ्ख्या फरक पर्छ। विशेषगरी पहिलो शिविरभन्दा माथि र दोस्रो शिविरनजिकै रहेको खुम्बु आइसफलमा प्रायस् बढी भर्याङको प्रयोग हुन्छ। धेरै जोखिम लिएर भर्याङ थाप्नुपर्ने दक्ष कामदारहरू बताउँछन्।