राष्ट्र बैङ्कले रिजर्भ बढाउन भनेपछि नेपाल बैङ्कले सेयरधनीलाइ लाभांश बाँड्न पाएन

गत आर्थिक वर्षमा बैङ्कले ३ अर्ब ३९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बैङ्कले नाफा गर्न थालेको हो । यसअघि भएको दायित्व भुक्तानी गत वर्षको पुसमै व्यवस्थापन गरिसकेको थियो ।

काठमाडौं । गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट नाफामा गएको नेपाल बैङ्कले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैङ्कले आउँदो वैशाख २२ गते ५९ औं वार्षिक साधारणसभा बोलाएको छ । बैङ्कले सभामा पेश गर्ने प्रस्तावमा सेयरधनीलाई लाभांश वितरण समावेश गरेको छैन ।
नेपाल राष्ट्र बैंङ्कले स्वीकृति नदिएपछि सेयरधनीलाई लाभांश वितरण नगरेको बैंङ्कका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंङ्कले नयाँ लेखा प्रणाली (एनआरएफ) लागु गरेका कारण वितरण नगरेको उनको भनाई छ । यस्तै केन्द्रीय बैंङ्कले जगेडा कोष (रिजर्व)लाई मजवुत बनाउन सुझाएको उनले सुनाए ।

गत पुससम्म बैंङकको संचित कोषको आकार बढेर १९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको संचित कोषमा ६ अर्ब ८० करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा बैंङ्कले ३ अर्ब ३९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि बैंङ्कले नाफा गर्न थालेको हो । यसअघि भएको दायित्व भुत्तानी गत वर्षको पुसमै व्यवस्थापन गरिसकेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंङ्कले १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्ष पुँजी बढाउन प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) जारी गरेको थियो । बैंङ्कको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ हारहारीमा छ ।