एभरेष्ट बेसक्याम्प पुगेकी मनीषाले भनिन्, ‘अब अन्नपूर्ण र मनास्लु जान्छु’

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एभरेष्ट बेसक्याम्पको डकुमेन्ट्रीसमेत निर्माण गरेकी छन् । सो डकुमेन्ट्रीले बेसक्याम्पको सुन्दरता विश्वभर पुग्ने उनको विश्वास छ ।

काठमाडौं । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले एभरेष्ट बेसक्याम्प विश्वकै सबैभन्दा उत्कृष्ट सुन्दर ठाउँमध्येको एक भएको अनुभव सुनाइन् । बेसक्याम्प पुगेर फर्किएकी नायिका कोइरालाले यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् ।

क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा ट्रेकिङ जाने इच्छा रहेको बताइन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एभरेष्ट बेसक्याम्पको डकुमेन्ट्रीसमेत निर्माण गरेकी छन् । सो डकुमेन्ट्रीले बेसक्याम्पको सुन्दरता विश्वभर पुग्ने उनको विश्वास छ ।

नेपालको हिमाल बुझ्न चाहने विश्वका सबैलाई सो डकुमेन्ट्रीले सहयोग पुग्ने बताउँदै केही समयभित्रै सार्वजनिक हुने जनाएको छ । उनले बेसक्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नु पर्ने देखिएको बताइन् । हिमाल देखाउने शेर्पाहरुलाई बिरामी परेमा उपचार गर्ने राम्रो ठाउँ नभएको र उनीहरुका छोराछोरीलाई अध्ययनका लागि राम्रो विद्यालयसमेत नभएकाले त्यसमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनको यात्रामा सबैभन्दा बढी विदेशी नागरिकहरु बेसक्याम्प क्षेत्रमा भेटिएको बताउँदै नेपालीहरुलाई पनि त्यहाँ घुम्न जान अनुरोध गरिन् ।

भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाइरहेका बेला उनको भ्रमणले थप सहयोग पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।