रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा सभामुख र ऊर्जामन्त्रीको आवेदन

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका हुन् ।

काठमाडौं । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् ।

सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेर जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा शुक्रबारदेखि साधारण शेयर बिक्री सुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गरेका हुन् ।

पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाईसमेत सहभागी हुने उपाय खोज्न आग्रह गरे । सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका हुन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएका छन् ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजारको पाँच सय कित्ता साधराण शेयर आवेदन दिएका छन् ।

सोही कार्यक्रमअन्तर्गत शुक्रबार दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री सुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । रासस