६ वर्षका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुरु, लागत साढे ७ अर्ब

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत अघि बढेको उक्त कार्यक्रममा आईफ्याडको अनुदान एवम् ऋण सहयोग तथा सरकारको पनि लगानी रहनेछ । हेल्भेटास स्वीस इन्टर कोअपरेसनले कार्यक्रम कार्यान्वयन गर्नेछ ।

काठमाडौं । आगामी छ वर्षका लागि लागू हुने गरी कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा लागू हुने गरी कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत अघि बढेको उक्त कार्यक्रममा आईफ्याडको अनुदान एवम् ऋण सहयोग तथा सरकारको पनि लगानी रहनेछ । हेल्भेटास स्वीस इन्टर कोअपरेसनले कार्यक्रम कार्यान्वयन गर्नेछ ।

कर्णाली प्रदेशका जनताको गरिबी शून्य र भोकमरी अन्त्य गर्दै आम्दानी र खाद्य सुरक्षाको प्रत्याभूति गर्ने कार्यक्रमको मुख्य लक्ष्य छ । कार्यक्रम सञ्चालनका लागि सरकार, आईफ्याडलगायतको ऋण र अनुदान रकम गरी कुल ७ अर्ब ६९ करोड (६८.०९ मिलियन अमेरिकी डलर) लागत अनुमान गरिएको छ ।

कुल ३५ हजार घरपरिवारमध्ये दुई तिहाई महिला र एक तिहाई दलित, जनजाति, मुस्लिम, युवा तथा भूमिहीनलगायत अन्य घरिवार समावेश गरिनेछ । आयोजनाले ४० हजार अप्रत्यक्ष घरपरिवार लाभान्वित हुने लक्ष्य लिएको छ ।

आयोजना कर्णाली प्रदेशका अछाम, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, कालीकोट, सल्यान, सुर्खेत, डोल्पा तथा मुगुलगायतका जिल्लामा लागू हुनेछ । खासगरी सात ओटा कृषिजन्य वस्तुको मूल्य शृङ्खला छनोट लागू हुनेछन् ।

स्याउ, बेमौसमी तरकारी, अदुवा, बेसार, बाख्रा, टिमुर तथा तरकारीजन्य बीउहरु मुख्य मूल्य शृङ्खलाका वस्तु हुन् । त्यसबाहेक थप मूल्य शृङ्खलामा खुट्टे फल, ओखर, आलु, मह, डेरी र पोषणयुक्त अन्नबाली छनोट भएका छन् ।