सेयर बजार बियरिस ट्रेन्डमा

आइतबार नेप्सेमा १ सय ५९ कम्पनीको ३ हजार १ सय ४९ कारोबारबाट २४ करोड ४२ लाख रुपैयाँबराबरको ६ लाख ७० हजार ५ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बियरिस ट्रेन्डमा देखिएको छ । गत साताभर २० अङ्कले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार ६ अङ्कले घटेको छ ।

गत साताको अन्तिम दिन बिहीबार ९ अङ्कले बढेर बन्द भएको नेप्से यो साताको पहिलो दिन आइतबार कारोबारको सुरुदेखि नै नकारात्मक देखिएको थियो । सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि आएको निरन्तरको गिरावटले बजार तत्काल बढ्ने सम्भावना कम देखिएको छ । आइतबार नेप्सेको कारोबार रकम २४ करोडमा सीमित भएको छ । पछिल्लो समयमा आएको निरन्तरको गिरावटले लगानीकर्ताको मनोबल भने कमजोर देखिन्छ ।

आइतबार कारोबार सुरु हुँदादेखि घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३९१.०३ अङ्कमा रहेको नेप्से ६.३२ अङ्कले घटेर १३८४.७१ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचक घटेपछि समग्र बजार सूचक घटेको हो । नेप्सेका कारोबार भएका बैङ्क २.६७, विकास बैङ्क ८.४६, अन्य समूह ७.९८, बिमा ४०.२२, होटल ३.४, लघुवित्त समूह १२.७४ र जलविद्युत् समूह २२.४५, उत्पादनमूलक ५.५९ र वित्त समूह भने २.६२ अङ्कले घटेका छन् । आइतबार कारोबार भए पनि व्यापार समूहमा कुनै परिवर्तन आएन ।

आइतबार नेप्सेमा १ सय ५९ कम्पनीको ३ हजार १ सय ४९ कारोबारबाट २४ करोड ४२ लाख रुपैयाँबराबरको ६ लाख ७० हजार ५ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।