सेयर बजारमा उछाल, १०२ करोडको कारोबार

नयाँ वर्षको सुरुको दिनदेखि सकारात्मक सङ्केत देखिएको बजारमा आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ । नयाँ वर्ष सुरु भएपछि बजार बढ्दै गएको छ ।

काठमाडौं । लगानीकर्तामा विश्वास बढेपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । नयाँ वर्षको सुरुको दिनदेखि सकारात्मक सङ्केत देखिएको बजारमा आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ । नयाँ वर्ष सुरु भएपछि बजार बढ्दै गएको छ ।

कम्पनीहरुको वित्तीय प्रतिवेदन आउने क्रम सुरुआत, नीतिगत सुधार, ब्याजदरमा कमी जस्ता कारणले बजार बढेको लगानीकर्ताको भनाइ छ ।

आइतबार बजार बुलिस भएपछि कारोबार रकम बढेर १ अर्ब रुपैयाँ कटेको छ । ३३ लाख २७ हजार ४८० कित्ता सेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ । आइतबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१३ रुपैयाँमा १४ करोड ८० लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस्तै एनआईसी एसिया बैङ्कको प्रतिकित्ता ४९२ रुपैयाँमा ४ करोड ३९ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको छ ।

निर्जीवन बिमा र उत्पादनबाहेक सबै परिसूचक उकालो लागेको छ । आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र नेपाल एसबीआई बैङ्कका लगानीकर्ताले कमाएका छन् ।