हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौमा

नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवम् सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने सशक्त ब्रान्डका रुपमा विकास हुँदै गएको छ ।

काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवम् सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने सशक्त ब्रान्डका रुपमा विकास हुँदै गएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ ।


यसअघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । ‘हिमालयन ट्राभल मार्ट क्रमशः ब्रान्डिङ हुँदै आइरहको छ,’ उनले भने, यसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’ हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको शाक्यले बताए ।

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन विश्वसामु चिनाउन सहयोग पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘मार्ट पर्यटन व्यवसायी, सहभागी तथा सबै सरोकारवालाका लागि नेटवर्किङ, व्यवसाय प्रवर्द्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्वितीय मञ्च बन्न पुगेको छ ।’ जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने बताए ।

हिमालयन ट्राभल मार्टको दोस्रो संस्करणमा हिमालयन राष्ट्रहरु बाहेक यूएई, भियतनाम र कोरियाजस्ता राष्ट्रहरुले बिक्रेताका रुपमा सहभागिता जनाएकाले प्रस्तुत मार्टको लोकप्रियता बढेको दर्शाउँछ ।

यस पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटानलगायत हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्युजिल्यान्ड, रसिया तथा सीआईएस राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरु सहभागी हुने बताइएको छ ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।