चिनी उद्योगले उचित मूल्यमा उखु खरिद नगरिदिँदा किसानले उखु बिक्री गर्न पाएनन् । केही उद्योगले विगतको उखुको भुक्तानी गर्न नसकेको भन्दै उखु खरिद नगरेको किसानको गुनासो छ । विभिन्न उद्योगले गतवर्षको झन्डै २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मैनालीले बताए । यता, उखु किसानले पाउने अनुदानबापतको रकम ७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
काठमाडौं । यस वर्षको उखु क्रसिङ सिजन सकिन लागे पनि किसानको उखु बिक्री नभई बारीमै सुक्न थालेको छ । एक हप्ताभित्र सर्लाही, सिराहा, रौतहट, बारा र पर्साका सबैजसो चिनी क्रसिङ उद्योग बन्द हुने भएपछि अहिले उखु किसान मर्कामा परेका छन् ।
खासगरी रौतहट र सर्लाहीका किसानले अहिलेसम्म पनि उखु बिक्री गर्न सकेका छैनन् । त्यस क्षेत्रमा हालसम्म करिब २० देखि ३० हजार मेट्रिक टन उखु बिक्री हुन नसकेर बारीमै सुक्न थालेको उखु किसान संघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । नयाँ क्रसिङ सिजन सुरु भएपछि विभिन्न उद्योगले १० अर्बको उखु खरिद गरे पनि भुक्तानी २ अर्ब मात्रै गरेको उनले बताए ।
क्रसिङ सिजन सकिएर उद्योग बन्द हुने अवस्थामा आइपुग्दा पनि उद्योगले ८ अर्ब र गत वर्षको भुक्तानी नदिएको उनको भनाइ छ । ‘क्रसिङ सिजन सकिनै लाग्यो । एक हप्ताभित्र सबैजसो उद्योग बन्द हुँदै छन्,’ उनले भने, ‘फागुनमा खरिद गरेको उखु ४५ दिन अर्थात् वैशाख १५ भित्र सबै भुक्तानी गर्नुपर्छ । तर ८ अर्ब रुपैयाँ भुक्तानी नदिएरै बन्द हुँदै छन् ।’
चिनी उद्योगले उचित मूल्यमा उखु खरिद नगरिदिँदा किसानले उखु बिक्री गर्न पाएनन् । केही उद्योगले विगतको उखुको भुक्तानी गर्न नसकेको भन्दै उखु खरिद नगरेको किसानको गुनासो छ । विभिन्न उद्योगले गतवर्षको झन्डै २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मैनालीले बताए । यता, उखु किसानले पाउने अनुदानबापतको रकम ७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
गतवर्षकै भुक्तानी र अनुदान रकम किसानले भुक्तानी पाउनुपर्ने भए पनि उद्योगले चिनी बिक्री नभएको बहाना देखाएर भुक्तानी नदिएको किसानकै गुनासो छ । भारतबाट चिनी आयात भएकाले आफ्नो उद्योगको चिनी बिक्री हुन नसकेकाले पनि भुक्तानी गर्न नसकिएको चिनी उद्योगीको भनाइ छ । गत वर्षको क्रसिङ सिजनमा चिनीको उत्पादन लागतभन्दा कम मूल्यमा चिनी बिक्री गर्नुपरेकाले स्वदेशी चिनी उद्योगलाई घाटा परेको स्वयम् महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
एभरेस्ट र इन्दुशंकरले सरकारले सरकारले नै तोकेको मूल्यमा भुक्तानी गरे पनि रिलायन्स चिनी उद्योगले भने भुक्तानी गरेको छैन । यता, गतवर्षको भुक्तानी अन्नपूर्णको ५ करोड र श्रीराम सुगर मिलको ७ करोड भुक्तानी बाँकी छ ।