अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन हुने

रासायनिक मल र बिसादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र बिसादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

सम्मेलन वैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचिव डा. गङ्गा आचार्यले जानकारी दिए । आचार्यका अनुसार भारत, भूटान, क्युबा र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ । सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १५० जना विज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ । सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रम प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए । सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरी जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

प्राङ्गारिक खेतिलाइ प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको संयाेजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अन्तर्क्रिया गरेर सुझाव सङ्कलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।