फेक रेस्क्यू प्रभाव : खुम्बु क्षेत्रमा पर्यटक घटे

गतवर्षको तुलनामा यो वर्ष पर्यटक घटेको खुम्बु क्षेत्रका होटल व्यवसायी निमाकान्छा शेर्पाले बताए । गत वर्ष दैनिक ५ सयभन्दा बढी पर्यटक खुम्बु क्षेत्रमा आउने गरेकोमा यो वर्ष करिब २ सयको हाराहारीमा मात्र आएको उनको भनाइ छ ।

काठमाडौं । पदयात्रामा जाने पर्यटकहरुलाई बिरामी बनाएर उद्धार गरी ठगी गरेका घटनाहरु सार्वजनिक भएसँगै त्यसको असर नेपालको पर्यटन क्षेत्रमा परेको छ ।

नेपाल आउने पर्यटकहरुलाई रेस्क्यूको बिमा गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले आनाकानी गरेसँगै पर्यटक आगमनमा कमी आएको हो । पदयात्राका लागि चर्चित क्षेत्र खुम्बुमा यो वर्ष पर्यटकको सङ्ख्या न्यून छ ।

गतवर्षको तुलनामा यो वर्ष पर्यटक घटेको खुम्बु क्षेत्रका होटल व्यवसायी निमाकान्छा शेर्पाले बताए । गत वर्ष दैनिक ५ सयभन्दा बढी पर्यटक खुम्बु क्षेत्रमा आउने गरेकोमा यो वर्ष करिब २ सयको हाराहारीमा मात्र आएको उनको भनाइ छ ।

के कारणले पर्यटकको सङ्ख्यामा कमी आयो भन्ने विषय यकिन नभएको शेर्पाले बताए । विगतका वर्षमा यो सिजनमा पर्यटकको घुइचो लाग्ने गरेको थियो । तर अहिले त्यो सङ्ख्या ह्वात्तै घटेपछि त्यस क्षेत्रका होटल व्यवसायीहरुसमेत निराश छन् ।

फेक रेस्क्यूका विषयमा सरकारले विश्व समुदायलाई स्पष्ट नपारेकै कारण समस्या उत्पन्न भएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेक रेस्क्यूसम्बन्धी छानबिन गरेर प्रतिवेदन बनाए पनि हालसम्म गोप्य राख्नु र दोषीलाई कारबाही नगर्नुको कारण झनै समस्या थपिएको उनको भनाइ छ । सरकारकै कारण यो वर्ष सोचे जस्तो पर्यटकहरु नेपालमा नआएको शेर्पाले बताए ।

फेक रेस्क्यु प्रकरण : किन भएन दोषीलाई कारबाही ?

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले पर्यटक आगमनमा कमी आएको बताए । पर्यटकीय सिजन सुरु भए पनि आगमनमा कमी आएको उनको भनाइ छ । के कारणले पर्यटक घटे भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको असर पनि पर्यटन क्षेत्रमा परेको छ । ट्राभल कम्पनीहरुले रामेछापको मन्थलीबाट जहाजमार्फत पर्यटकलाई खुम्बुक्षेत्र लैजाने गरेका छन् । तर मन्थलीमा जान बिहान सबेरै उठ्नुपर्ने भएकाले पनि पर्यटक त्यसतर्फ जान नमानेको उनको ठम्याइ छ ।